News

इन्टरनेट सेवा प्रदायकहरूको संस्था भन्यो, ‘पैसा नतिरे इन्टरनेट दिन सक्दैनौं’

काठमाडौँ — नेपाल दूरसञ्चार प्राधिकरणले लकडाउन अवधिभरका लागि उपभोक्ताले महसुल भुक्तानी गर्न नसके इन्टरनेट सेवा अवरुद्ध नगर्न दिएको निर्देशन पालना गर्न नसकिने सेवा प्रदायकले बताएका छन् । लकडाउन अवधिभर महसुल नतिरे पनि इन्टरनेट सेवा अवरुद्ध नगर्न भन्दै प्राधिकरणले शुक्रबार सूचना जारी गरेको थियो । कान्तिपुरमा खबर छ ।

प्राधिकरणको सूचनाको जवाफ लेख्दै इन्टरनेट सेवा प्रदायकहरूको संस्था (आईस्पान) नेपालले वृद्धवृद्धा र अशक्त ग्राहकको हकमा मात्रै यस्तो व्यवस्था गर्न सकिने जनाएको छ । सबै ग्राहकलाई लकडाउन अवधिभर महसुल नतिरे सेवा दिन नसकिने आईस्पान नेपालका अध्यक्ष भोजराज भट्टको भनाइ छ ।

‘हामीले कर्मचारीलाई तलब दिनुपर्‍यो, ब्यान्डविथको पैसा तिर्नुपर्‍यो,’ उनले भने, ‘ब्यान्डविथको माग बढेका कारण कतिपय सेवा प्रदायकले अन्तर्राष्ट्रिय ब्यान्डविथ थप गरेका छन् ।’ लकडाउनका कारण ब्यान्डविथको माग बढेकाले सेवा प्रदायकलाई आर्थिक भार पनि बढेको उनको दाबी छ ।

यसअघि मन्त्रिपरिषद्ले सरकारी सेवा प्रदायकलाई लकडाउनभरका इन्टरनेट र भ्वाइस शुल्कमा २५ प्रतिशत छुट दिन भनेको थियो । निजी इन्टरनेट सेवा प्रदायकलाई पनि छुट दिन आग्रह गरेको थियो । सेवा प्रदायकले भने इन्टरनेट सेवामा लकडाउन अवधिभर २५ प्रतिशत छुट दिन सरकारले राहत प्याकेज दिए मात्रै सम्भव हुने बताएका छन् ।

Related Articles

Back to top button
Close