Saturday, May 21

नेपालकै धेरै सब्सक्राइबर हुने मध्येको युट्युब च्यानल ओएसआर डिजिटल ह्याक

April 5, 2022 154

काठमाडौं । नेपालको चर्चित युट्युब च्यानल ‘ओएसआर डिजिटल ’ ह्याक भएको छ । ह्याक भएसँगै च्यानलमा रहेका भिडिओ सामग्री गायब भएका छन् भने नाम उही नै छ ।

ह्याकरले ओएसआर डिजिटलको आधिकारिक लोगो हटाएर अर्को लोगो राखेका छन् । युट्युब च्यानलमाथि अनधिकृत पहुँचबारे अनुसन्धान भइरहेको र पुरानै अवस्थामा फर्काउन प्रयास भइरहेको कम्पनीले जानकारी दिएको छ ।

ओएसआर डिजिटलको अन्य युट्युब च्यानल ‘ओएसआर रियालिटि’ र ‘ओएसआर मोभिज’ भने सुरक्षित छ। सन् २०१४ मा सुरु भएको यो युट्युब च्यानललाई ५४ लाख बढीले सब्सक्राइब गरेका छन् । यो च्यानल नेपालकै सबैभन्दा सब्सक्राइबर धेरै हुने च्यानलमा तेस्रो स्थानमा छ ।

केही दिनअघि अर्को चर्चित युट्युब च्यानल बुढासुब्वा डिजिटल ह्याक भएको थियो । बुढासुब्वा डिजिटल भने अहिले ह्याकरको पहुँचबाट मुक्त भइसकेको छ । दिनानुदिन चर्चित मानिएका युट्युब च्यानल ह्याक हुनुले साइबर सुरक्षालाई गम्भीर चुनौती दिएको छ ।

Comment