Wednesday, May 18

सिन्धुपाल्चोकको बाह्रबिसेमा ग्याँस सिलिन्डर पड्किँदा ३ बालबालिकाको मृत्यु, घटनास्थलमा पुगेका प्रहरी यसो भन्छन्

April 3, 2022 718

सिन्धुपाल्चोक —

जिल्लाको बाह्रबिसे नगरपालिका वडा ८ मानेस्वाँरा माख्लो लामा टोल गाउँमा ग्यास सिलिन्डर पड्किएर घरमा आगलागी हुँदा जलेर तीन बालबालिकाको मृत्यु भएको छ । बाह्रबिसे नगर मानेस्वाँरा लामा टोल गाउँका स्थानीय मिनबहादुर तामाङको घरमा आइतबार बेलुकी साढे ६ बजे एक्कासी ग्यास सिलिन्डर पड्किएको थियो ।

घटनास्थलमा पुगेका इलाका प्रहरी बाह्रबिसेका प्रहरी निरीक्षक देवेन्द्र शाहकाअनुसार घर दनदनी बल्दा तामाङका छोरा १० वर्षका इशाक, उनकै भाइ कुमार तामाङका ६ वर्षका छोरा सरगम र छिमेकी पदम तामाङको साढे २ वर्षीया छोरी दिव्याको जलेर घरभित्रै मृत्यु भएको हो । त्यतिबेला अर्को कोठामा जलेर घाइते भएका मिनबहादुरलाई उपचारर्थ बलेफी गाउँपालिका खाडीचौरस्थित सिन्धु सदाबहार अस्पताल लगिएको छ ।

साढे ६ बजे सुरु भएको आगलागी निभाउन स्थानीय र प्रहरीले तीन घण्टा लगाएर बल्ल निभाएका थिए । ‘आगो निभाएपछि ध्वस्त घरबाट शव निकालिएको छ, आगलागी बल्ल नियन्त्रण भयो, ’उनले भने ।

‘सावधानी नअपनाउँदा घटना घट्यो’

प्रत्यक्षदर्शी स्थानीय चिनीबहादुर तामाङकाअनुसार ३ दिनदेखि घरभित्र राखिएको ग्यास लिग भएर वरिपरि गन्ध फैलिएपछि स्थानीयले यसबारे बाह्रबिसे नगर ८ का मिनबहादुर तामाङलाई खबर गरेका थिए । घरायसी र अन्य कृषिको काममा व्यस्त मिनबहादुरले लिग भएको ग्यासलाई बन्द गर्न बिर्सिएपछि झनै ग्यास घरभरी फैलिएको थियो । आइतबार बेलुकी साढे ६ बजे खाना बनाउने क्रममा ग्यास बाल्न खोज्दा सिलिन्डर पड्कियो । एक्कासी ‘ड्याम ड्याम ’बम पड्किएजस्तै आवाज सुनेपछि तर्सिएका स्थानीयमा खैलाबैला मच्चिएको थियो ।

‘लिग भएको ग्यासलाई बेलमै सावधानी अपनाएनन्, दशा लाग्दा यस्तो दुखद् घटना भयो, गाउँभर ग्याँस सिलिन्डरले त्रास बढायो,’उनले भने ।

Comment