बहुप्रतिक्षित फिल्म ‘केजिएफ–२’ को अफिसियल ट्रेलर गत आइतबार रिलिज भइसकेको छ । भारतको बैंगलुरुमा आयोजित एक भव्य कार्यक्रममा निर्माण टिमले कन्नडा, हिन्दी, तेलुगु, तमिल र मलायालम गरी पाँच वटा भाषामा ‘केजीएफ च्याप्टर–२’को ट्रेलर सार्वजनिक गरेको हो ।
केजीएफ च्याप्टर २ को ट्रेलरको लोकप्रियता बढ्दो छ । साथ साथै यशको पनि । नेपालमा पनि के केजीएफ च्याप्टर २ ट्रेलर युट्युवको शिर्ष स्थानमा रहेको छ । फिल्म केजीएफबाट सुरु गरेर सफलताको सिँढी चढिरहेका यशको पारिवारिक पृष्ठभूमिबारे भारतीय मिडियाहरुले खोजी गरेका छन् ।
उनी मध्यवर्गीय परिवारको सदस्य भएको र कर्नाटको हासन जिल्लाबाट प्रतिनिधित्व गर्ने खुलेको छ । उनको वास्तविक नाम नवीन कुमार गौडा हो। उनका पिता कर्नाटक स्टेट ट्रान्सपोर्ट बस सर्विसमा बस ड्राइभर हुन्।
मैसुरबाट पढाई पूरा गरेर यश आफ्नो कलाकार बन्ने सपना पूरा गर्नका लागि बेंगलुरु आएका थिए। यहाँको लोकप्रिय बिनाका थियटरमा भर्ना भए। यशका अनुसार उनका पिता आज पनि बस चलाउँछन्।
फिल्म निर्देशक एसएस राजामौलीले पनि यशका पिता ड्राइभर भएको सुन्दा आफू अचम्मित भएको बताएका थिए। आफ्ना लागि यशभन्दा उनका पिता ठूलो स्टार भएको राजामौलीको भनाई थियो।
यशले अभिनेत्री राधिका पण्डितसँग बिहे गरेका हुन्। उनका दुई बच्चाहरु छन्। राधिका र यश पहिलो पटक टिभी कार्यक्रम नन्द गोकुलाको सेटमा भेटेका थिए। दुवै जनाले यशो मार्ग फाउन्डेसन चलाउँछन्, जसले गरिबी हटाउन विभिन्न कार्यक्रम सञ्चालन गर्छ।
पछिल्लो एक दशकमा यश कन्नड फिल्म उद्योगमा महंगो अभिनेता बनेका छन्। कन्नड सिनेमाको सबैभन्दा महंगो फिल्ममध्येको एक केजीएफको सफलतापछि यशले प्रत्येक फिल्मबाट १५ करोड रुपैयाँ पारिश्रमिक लिन्छन्।
यशले केजीएफ-२ मा राजा कृष्णप्पा बैर्या उर्फ रकी भाइको भूमिकामा देखिनेछन् । उनले फिल्मको लागि २५ देखी २७ करोड पारिश्रमिक लिएका छन् ।
केजिएफ च्याप्टर-२ १४ अप्रिल २०२२ मा रिलिज हुँदैछ । प्रशान्थ नीलले लेखन तथा निर्देशन गरेको यस फिल्ममा अभिनेता यश, सञ्जय दत्त, श्रीनिधी शेट्टी, रविना टण्डन, प्रकाशराज, माल्भिका अभिनाश, अच्युत कुमार, आयाप्पा पी शर्मा, राव रमेश, ईश्वरी राव, अर्चना जोइस, टीएस नागाभारना, सरन, अभिनाश, भशिष्टा सिम्हा, हरिश राईलगायतको मुख्य भूमिका रहेको छ ।
Comment