Wednesday, May 18

चन्द्रागिरी केबलकार चढ्न डरमर्दो भयो, फेरी बाहिरियो यस्तो घटना

April 3, 2022 1722

काठमाडौं, चैत्र १६ । काठमाडौंको थानकोटमा सञ्चालित चन्द्रागिरी केवुलकारमा चढ्न जोखिम बढेको छ । मंगलबार दिउसोको सार्वजनिक भएको घटनाले केवलकार चढ्न जानेहरु सचेत हुनुपर्ने अवस्था आएको हो ।

यात्रा गरिरहेका कारहरु अचानक रोकिएको खबर छ । करिब ३ घण्टासम्म रोकिदा कोकोहोलो नै मच्चिएको बताइएको छ । तर यता चन्द्रागिरी केवल कार प्रशासनले भने बत्ती जादा करिब आधा घण्टा यस्तो भएको बताएको छ ।

थानकोट प्रहरीका अनुसार केबल कारमा रोकिएकाहरुको उद्धारका लागि प्रहरी नायब उपरीक्षकको कमाण्डमा २ जना चिकित्सक र नर्सहरुसहितको टोली घटनास्थल पुगेको थियो । ३७ जनालाई रोकिन पुगेका केबलकारहरुबाट फर्काइएको थियो । थानकोट प्रहरीका डीएसपी डिल्लीनारायण पाण्डेले ती ३७ जना चढेका कारहरु जेनेरेटरको बिजुली चलाएर फर्काउँदा एउटा कार फर्किने गति ज्यादै सुस्त भएकोले ३० मिनेट लागेको जानकारी दिए ।

केवुलकारमा सवार ४० जना भन्दा बढी पर्यटकहरु केवुलकार बन्द भएपछि करिव आधा घण्टा केवुलकार भित्रै बस्न परेको कम्पनी व्यवस्थापनले जनाएको छ । उनिहरुलाई इमर्जेन्सि उद्धार गरिए पनि जेनेरेटरमा समस्या देखिएपछि केही समय केवुलकार संचालनमा आउन नसकेको चन्द्रगिरी हिल्स प्रालिका मेनेजर झलक पौडेलले बताए ।

दिउँसो करिव ३ बजे प्राविधिक गडवडीका कारण केवुलकार संचालनमा समस्या भएको भए पनि हाल पुन संचालन भइसकेको बताए । केवुल कार बन्द हुँदा चन्द्रागिरी डाँडामा करिव ४ सय जना रहेकोमा उनीहरु साँझसम्म सबै फर्किसकेको पौडेलले जानकारी दिए । मर्मतसम्भार समयसमयमा गर्नुपर्नेमा त्यसलाई ख्याल नगर्दा यात्रु कारमै झुण्डिएर बस्नुपर्ने र निसास्सिने अवस्था आएको भन्दै पीडितहरुले केबलकारको निगरानीमा सरकारले ध्यान दिनुपर्ने खाँचो औंल्याएका छन् ।

सोेहि विषयमा पत्रकार राजेन्द्र राज तिमल्सिनाले टिप्पणी गरेका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् । ‘चन्द्रागिरि केबुल कारमा मानिस झु ण्डिएको झुण्डियै भए । उद्धारमा प्रहरी गए, डाक्टर गए, नर्स गए । ३७ जना कारमा अड्किएका रहेछन् । ४ सय जना जति भालेश्वरमै रोकिए । तीन घण्टासम्म खैलाबैला मच्चियो । हिजो दिउसोको यो घटना आजसम्म पनि मिडियाले थाहा पाएनछ । चन्द्रागिरि अलि कोल्टे ठाउंमा रहेकोले पत्तो नभएको होला ।’

Comment