News

खाडीमा कार्यरत नेपाली भन्छन्–‘संकटका बेला हामीले देश सम्झ्यौं, देशले हामीलाई सम्झिएन’

घोराही। ७५ दिनयता युएइमा रोजगारी गुमाएपछि दाङका २५ वर्षीय अरुण विश्वकर्माको अवस्था झन्–झन् दयनीय बन्दैछ। उनी तत्काल स्वदेश फर्कने आशमा छन्।

विश्वव्यापी कोरोनाको फैलदो संक्रमणका कारण उनले काम गर्दै आएको कम्पनी बन्द भइसकेको छ। अढाइ महिनाको तलब समेत पाएका छैनन्। ‘७५ दिन पुग्यो, रोजगारी गुमाएर बसेको। पाउनुपर्ने ५० हजारसमेत पाएका छैनौं। भएको पैसा पनि खान बस्नमै सकियो’– उनले भने।

यता संक्रमणको जोखिम पनि दिनहुँ बढेको उनी बताउँछन्। ‘हरेक दिनजसो संक्रमण बढ्दो छ’– उनले भने– ‘हामी वरपरका मानिसहरु संक्रमित भइरहेका छन्।’ तत्काल आफूहरुलाई उद्धार नगरे छिट्टै संक्रमित हुनसक्ने उनले बताए।

खाडीमा आफूजस्तै थुप्रै नेपाली नागरिक रोजगार गुमाएर बसेको र कैयौं संक्रमणको उच्च जोखिममा रहेको उनी बताउँछन्। रोजगारी गुमाएपछि नेपालीहरुको खान बस्न समस्या बढ्दै गएको र अवस्था झन्–झन् जटिल बन्दै गएको उनले सुनाए।

‘रोजगारी गुमाएपछि कहाँ बस्ने, के खाने भन्ने चिन्ता बढेको छ। भोलि दुःख बिरामी परिएला कहाँ जाने ?’– उनले भने। तत्काल उद्धार नगरिए भोकले वा रोगले मर्ने अवस्था आउने उनले बताए।

संकटको यस घडीमा आफूहरुले देश सम्झिएको उनी बताउँछन्। तर सरकारले भने आफूहरुलाई उद्धार गर्न कुनै प्रयास नथालेकोमा उनले दुःख व्यक्त गरे। भन्छन्– ‘संकटमा सबैले आफ्नो घर सम्झन्छ। हामीले पनि आफ्नो देश सम्झियौं। घर परिवार सम्झियौं। तर देशले हामीलाई सम्झिएन।’ अरु मुलुकले संकटमा रहेका आफ्ना नागरिकहरुलाई जहाज चार्टर गरेर स्वदेश फर्काए पनि नेपाल सरकारले उद्धार गर्न नखोजेको उनले बताए।

१७ महिनाअघि युएइ पुगेका वीरगञ्जका २८ वर्षीय दिपेशकुमार सराबको अवस्था पनि अरुणकै जस्तो छ। ७५ दिनयता उनी पनि रोजगार गुमाएर बसेका छन्। आफू कार्यरत कम्पनी बन्द भएपछि उनले पाउनुपर्ने ५० हजार तलब समेत पाएका छैनन्।

संक्रमणको जोखिम बढिरहेको यो संकटको घडीमा उनी पनि आफ्नो घरपरिवार र देश सम्झिरहेका छन्। ‘के खाने ? कहाँ बस्ने ? समस्यै समस्या छ। आफूसँग भएको पैसाले कत्तिञ्जेल पुग्ला’– उनले भने– ‘हामी स्वदेश फर्कन चाहन्छौं। सरकारले हामीलाई छिटो उद्धार गर्नुपर्छ।’

संकटको घडीमा सरकारले वेवास्ता गरेको उनी बताउँछन्। ‘हामी बाध्यताले यहाँ आएका हौं। सरकारले यो कुरा बुझ्नुपर्छ’– उनले भने– ‘आज हामी विपतमा परेको बेला सरकारले आफ्ना नागरिकलाई जे जसरी हुन्छ स्वदेश फर्काउनुपर्छ।’ उनले आफूजस्तै थुप्रै नेपालीको अवस्था यस्तै रहेको छ। भन्छन्– ‘धेरैले रोजगार गुमाइसकेका छन्। कति संक्रमणको उच्च जोखिममा छन्। र, सबै छिटोभन्दा छिटो स्वदेश फर्कर्ने आशमा छन्।’

मलेसियालगायत खाडी मुलुकमा गरी १५ लाख नेपाली कार्यरत छन्। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार चार लाख सात हजारलाई तत्काल उद्धार गर्नुपर्ने देखिन्छ। यता सरकारले भने प्राथमिकताका आधारमा एक हप्तादेखि १० दिनभित्र २५ हजारलाई मात्र उद्धार गर्ने जनाएको छ। युगबोधबाट

Related Articles

Back to top button
Close