News

५ दिनमा कोरोना जितेकी गर्भवती महिला भन्छिन् : ‘आत्मबल बढाए निको हुन्छ’

कोरोना सङ्क्रमण पुष्टि भएको पाँच दिनमा निको भएर घर फर्कँदै गरेकी हेटौँडा घर भएकी २५ वर्षीया महिलाले कोरोना भाइरसको सङ्क्रमण सामान्य रहेको बताएकी छिन् ।

पाँच महिनाको गर्भ भएको समयमा कोरोना सङ्क्रमण देखिएर भरतपुर अस्पतालमा उपचार गराई घर फर्कने क्रममा पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै उनले भनिन्, “कोरोना सङ्क्रमण हुनु भनेको सामान्य रुघाखोकी लाग्नु हो आत्मबल बलियो बनाउनुस् निको हुन्छ ।”

आफूलाई कोरोना सङ्क्रमण भएको भान नभएको बताउँदै उनले सङ्क्रमणसमेत कसरी भयो भन्ने विषय नै अन्योल रहेको बताइन् ।

कोरोना सङ्क्रमणले मान्छे मरिहाल्ने भन्ने नभएको उनको भनाइ थियो । उनले भनिन् “कोरोना लाग्ने बित्तिकै मान्छे मरिहाल्ने भन्ने होइन । म गर्भवती हुँदा त तीन/चार दिनमा नै जाती भएँ । तपाईँहरु पनि आत्तिनु पर्दैन, तातोपानी खाने र आत्मविश्वास बढाए सञ्चो भइन्छ ।”

कोरोना सङ्क्रमण देखिए पनि आत्मबल बढाएर चिकित्सकको सल्लाह बमोजिमका क्रियाकलाप गरे यसलाई जित्न सहज हुन् विगतका केसले देखिएको छ ।

भरतपुर अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलका अनुसार उनको नमूना लिइएको एक सातापछि शुक्रबार र शनिबार गरी पुनः स्वाब परीक्षण गर्ने क्रममा नेगेटिभ आएको थियो । नतिजा नेगेटिभ आएपछि उनलाई आइतबार बिदाइ गरिएको हो ।

Related Articles

Back to top button