News

अमेरिकामा अध्ययनरत नेपाली युवायुवतीको कोठाभाडा तिरिदिन्छन् यी युवक

तपाईँ यदि अमेरिकामा विद्यार्थी भिसामा हुनुहुन्छ र कोरोनाबाट प्रभावित भएर आफू बसेको कोठाको भाडा समेत तिर्न सक्नु भएको छैन भने तपाईँका लागि अमेरिकामा रहेका नेपाली युवा क्षितिजराज लोहनी एक सहयोगी हुन सक्छन् । क्षितिजले अमेरिकामा कोरोनाको कारण कोठाको मासिक भाडा समेत तिर्न नसकेकाहरुको भाडा तिरिदिने अभियान चलाइरहेका छन् । उनले आफ्नो गैर नाफा मुलक संस्थामार्फत कोरोनाबाट प्रभावित २२ जना विद्यार्थीको भाडा तिरिसकेका छन् । लोहनीको वेबसाइटमा उल्लेखित विवरण अनुसार अहिलेसम्म अमेरिकामा १४ जना र अष्ट्रेलियामा ८ जनाको गरी २२ जनाको भाडा प्रतिव्यक्ति तीन सय अमेरिकी डलरका दरले तिरिएकाे छ ।

क्षितिजराज लोहनी।
यो अभियानको सुरुवात पनि अनौठो किसिमले भएको लोहनी बताउँछन् । अमेरिकाको नेपलिज इन अमेरिका कन्फेसन पेजमा एक जना नेपाली युवतीले कोरोनाको कारण आफूले काम गुमाएको र क्रेडिट कार्डमा समेत लिमिट नरहेको कारण आफू समस्या परेको भन्दै स्टाटस लेखिन् । उनले आफूसँग यो महिनाको भाडा तिर्न पैसा नभएकाले भाडा तिरिदिने जो कोहीसँग जे गर्न पनि तयार रहेको भन्दै पोष्ट गरिन् । प्रतिउत्तरमा लोहनीले साँच्चिकै समस्यामा परेको हो भने केही नियतबीना नै २५० डलरसम्म सहयोग गर्न सक्छु भन्दै सहयोग चाहिए इमेल गर्न अनुरोध गरे । त्यसपश्चात ती युवतीले सित्तैमा हैन बरु ऋणका रुपमा दिन आग्रह गरिन् । ती युवतीले एकमहिना पछि त्यो रकम फिर्ता दिएको लोहनीको भनाइ छ ।

त्यसपश्चात लोहनीले अमेरिकामा कति जनालाई भाडा तिर्न पनि गाह्रो रहेछ भनेर फेसबुक वालमा पोष्ट गरेका थिए। अहिलेसम्म १०० जना विद्यार्थीलाई महिनाको भाडा तिर्न समस्या रहेको भन्दै इमेल आएको लोहनीले बताए । पेशाले क्यालिर्फोनिया स्थित एप्पलको मुख्य कार्यालयमा सफ्टवेयर इन्जिनियर रहेका लोहनीलाई सुरुमा समस्यामा परेकालाई सहयोग गर्न गोफण्डबाट पैसा उठाउने कि भन्ने लागेको थियो तर पछि लोनको रुपमा दिने योजना बनाएकाले सहयोगीकर्ता खोज्न थाले ।

सहयोगकर्ताहरु खोज्दा झण्डै सात हजारसम्म सहयोग जुट्ने आश्वासन पाएपछि अभियानका लागि झनै हौसला मिलेको उनी बताउँछन् । समस्यामा परेका विद्यार्थीहरु र ती विद्यार्थीलाई सहयोग गर्ने सहयोगकर्ताको बीचमा पुलको रुपमा मध्यस्तकर्ताको रुपमा बसेर काम गरिरहेको लोहनीको भनाइ छ । कोरोनाको अति प्रभावित राज्य न्यूर्योक, क्यालिफोर्निया र क्याम्पस बन्द हुँदा अन्त काम गर्न चाहेर पनि नपाउने राज्य ओहायो तिरका विद्यार्थीहरुले सहयोगको याचनासहित सम्पर्क गरेको लोहनीले बताए ।

धेरै राज्यहरुमा स्टे होम जारी भएको कारण काम गर्न जान नपाएको र क्याम्पस बन्द हुँदा हप्तामा २० घण्टा काम गर्न पनि नपाएका विद्यार्थीहरुले इमेलमा उल्लेख गरेको उनको भनाई छ । वास्तवमै पीडित रहेकाहरुले मात्रै सहयोग पाउन् भन्नका लागि उनीहरुको क्याम्पसको परिचयपत्र र बैंक खाताको स्क्रिनसट माग्ने गरेको लोहनीले बताए ।

यसरी सम्पर्कमा आउने धेरैको बैंक खाता ऋणात्मकमा रहेको समेत लोहनीले बताए । अझ, भाडा तिरे नतिरेको पक्का गर्न सम्भव भएसम्म सँगै बस्ने रुममेटसँग कुरा गर्ने गरेको उनले बताए । ‘त्यसपश्चात, समस्यामा परेका विद्यार्थी र ती विद्यार्थीलाई सहयोग गर्ने व्यक्तिलाई फोनमा कुरा गराइदिन्छु, बिना धितो ऋण सहयोग भएकाले फिर्ता आउँदैन कि भन्ने पूर्व जानकारी पनि दिने गरेको छु’, लोहनीले स्पष्ट पारे ।

तर ब्याज नलिने भएकाले इमान्दार विधार्थीले एक वर्ष भित्रमा फिर्ता दिनेमा विश्वस्त रहेको क्षितिज बताउँछन् ।
दुई पक्षको मञ्जुरीपछि एक जनाले अधिकतम ३ सय डलर सम्म ऋण सहयोग पाउँछन् । सहयोग लिने र सहयोगकर्ताले रकम दिने समय पनि रियल टाइममै वेवसाइटमा उल्लेख गर्ने गरेको लोहनीको भनाई छ ।

‘विश्वासको आधारमा दिइरहेका छाैँ, धेरैजस्तो ब्याचलर गरिरहेका विद्यार्थीहरु छन्, उनीहरु ग्रयाजुयट भएपछि फिर्ता गर्लान् भन्ने सोचेका छौँ, अधिकतम, एक वर्षमा फिर्ता हुन्छ कि’, लोहनीले भने ।

अमेरिकामा धेरैजस्तो विद्यार्थीहरु समूहमा मिलेर अपार्टमेन्टमा बस्ने गरेकाले औसतमा ३ सय डलरले भाडा तिर्न पुग्छ भन्ने अनुमान गरेर ३ सयको सीमा तोकिएको लोहनीले स्पष्ट पारे । यसरी ऋण लिनेहरुको नाम ठेगाना गोप्य राख्ने गरेको उनले बताए । तर सहयोगकर्ताको नाम भने लोहनीले आफनो वेवसाइटमा सबैले देख्ने गरेर राखेको बताए ।

क्षितिजले क्रिन्जल डट ओआरजीमार्फत सहयोग जुटाउँदै आएका छन् ।‘अमेरिकामा रहेका विद्यार्थीलाई लक्षित गरेर सुरु गरेपनि अष्ट्रेलिया बस्नेहरुको पनि झन् ठूलो समस्या रहेको थाहा पाएको छु’, लोहनीले भने ।अष्ट्रेलियामा प्रत्येक हप्ता र दुई हप्तामा भाडा घरधनीलाई बुझाउनुपर्ने रहेको कारण पनि उनीहरु झन समस्या रहेका छन् ।

अमेरिकामा कोरोनाबाट प्रभावित नेपाली विद्यार्थी लगायत नेपालीलाई गा्रेसरी, औषधी लगायत होम डेलिभरी गर्न अरु समूहले गरेपनि यसरी नेपाली विद्यार्थीलाई लक्षित गरी भाडाको रुपमा मासिक रेन्ट सहयोग गर्ने आफू पहिलो भएको क्षितिजको दाबी छ । यता, वासिटंनडिसीस्थित नेपाली राजदूताबासले विद्यार्थी भिसामा रहेर कोरोनाका कारण भाडा तिर्न समस्यामा रहेकालाई सहयोग गर्ने नीति नभएको स्पष्ट पारेको छ ।

अमेरिकाका लागि नेपाली राजदूत डा अर्जुन कार्कीले कोरोनायता नेपाली विद्यार्थीले काम गर्न नपाएर भाडा तिर्न नसकेको समस्याहरु टिपाउने रहेको बताए । तर त्यस्ता विद्यार्थीहरुलाई दूतावासले सहयोग गर्ने उपाय नहरेको उनले बताए । ‘विद्यार्थी भिसामा हुनेले अमेरिकामा कानुनी रुपमा काम गर्न पाउँदैनन, अब हामीले विभिन्न राज्यमा रहेका गैरआवसीय नेपाली संघलाई त्यस्ता समस्यामा परेकालाई सहयोग गर्न अनुरोध सम्म गर्ने गरेको छाैँ, तर नेपाल सरकारले त्यसरी भाडा तिरिदिन सक्दैन’, राजदूत कार्कीले भने ।

अमेरिकन नागरिक, ग्रिनकार्डवाला, रोजगारी भिसामा रहेकाहरु लगायत कानुनी रुपमा काम अनुमति भएकाहरुलाइ भने अमेरिकाको केन्द्रीय तथा राज्य सरकारबाट वेरोजगार भत्ता दिने गरेको छ । नेपाल लगायत जुनसुकै अन्तरराष्ट्रिय विद्यार्थीले भने यदि विद्यार्थी भिसामा रहेको छ भने क्याम्पसमा बाहेक अन्त काम गर्न कानुनी रुपमा पाउँदैनन् ।

Related Articles

Back to top button
Close