News

हवाई भाडा सस्तो हुने

काठमाडौं । पर्यटन क्षेत्रमा कोरोना महामारीका कारण थलिएको नेपाली आन्तरिक हवाई उद्योगका लागि आगामी आर्थिक वर्षको बजेट हालसम्मकै हितकर भएको व्यवसायीले जनाएका छन् । अर्थमन्त्री युवराज खतिवडाले संघीय संसद्को दुवै सदनमा बिहीबार पेस गरेको आर्थिक वर्ष २०७७/७८ को बजेटले चारवटा शुल्क, दस्तुर र कर मिनाहा गरिदिएको छ ।

नेपाली वायुसेवा कम्पनीले विमानस्थलमा भुक्तानी गर्नुपर्ने पार्किङ शुल्क, वायुसेवा सञ्चालन नवीकरण दस्तुर, उडान योग्यता प्रमाणपत्र दस्तुर र हवाई इन्धनमा लाग्ने पूर्वाधार कर छुट दिइएको खतिवडाले जानकारी दिए । ‘हवाई इन्धनमा प्रतिलिटर १० रुपैयाँ लाग्दै आएको पूर्वाधार कर छुटको परिकल्पना नै गरेका थिएनौं,’ निजी क्षेत्रको सर्वाधिक उडान भर्ने वायुसेवा कम्पनी बुद्ध एयरका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतले कान्तिपुरसँग भने, ‘यो कर हट्दा अब नेपालमा सबै मध्यम वर्गीयको पहुँचमा हवाई सेवा पुग्ने निश्चित छ ।’कान्तिपुर दैनिकमा यो खबर छ ।

त्यस्तै लकडाउन र उडान प्रतिबन्दका कारण उडान भर्न नपाई हवाई मैदानमै ग्राउण्डेड जहाज पार्किङ शुल्क छुट दिइने भएको छ । लाइसेन्स नवीकरण तथा हवाई इन्धनमा लाग्दै आएको पूर्वाधार कर पनि मिनाहा गरिने आगामी आवको बजेटमा भनिएको छ । साथै हवाई सेवा, होटल, ट्रेकिङ, ट्राभललगायत कम्पनीलाई विविध शुल्क र ब्याजमा अनुदान दिने पनि अर्थमन्त्रीले बजेटमार्फत घोषणा गरेका छन् ।

त्यस्तै सरकारले महत्वपूर्ण पर्यटकीय पूर्वाधारका रुपमा रहेको मुलुकको हवाई क्षेत्रको पूर्वाधार विस्तारका लागि आगामी आर्थिक वर्षका लागि रु १९ अर्ब ४२ करोड बजेट विनियोजन गरेको छ । अर्थमन्त्री डा युवराज खतिवडाले सङ्घीय संसद्को संयुक्त वैठकमा आव२०७७÷०७८ कोे आयव्ययको अनुमानित विवरण (बजेट) प्रस्तुत गर्दै पर्यटन हवाई पूर्वाधार विकासका लागि बजेट घोषणा गरेका हुन् ।

अन्तरराष्ट्रिय विमानस्थलको निर्माण तथा स्तरोन्नतिका लागि यो बजेट खर्च गरिनेछ । अघिल्लो आव २०७६÷७७ मा हवाई क्षेत्रको पूर्वाधार विकासका लागि रु १९ अर्ब ३५ करोड बजेट विनियोजन गरिएको थियो । हवाई पूर्वाधारमा अघिल्लो वर्षभन्दा यो वर्ष सात करोड बढी बजेट छुट्याइएको छ । सुरक्षित, नियमित, विश्वसनीय र सुलभ हवाई सेवाका लािग गुणस्तरीय हवाई पूर्वाधार निर्माणलाई प्राथमिकता दिएको सरकारले अन्तर प्रदेश हवाई सम्पर्क विस्तार र अन्तरराष्ट्रिय हवाई सेवा बढाउन बजेट छुट्याएको छ ।

निर्माणाधीन गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा दोस्रो टर्मिनल भवन निर्माण र पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थलका लागि बजेट छुट्याएको छ । बाराको निजगढ अन्तरराष्ट्रिय विमानस्थलमा बस्ती स्थानान्तरणका लागि बजेट विनियोजन गरिएको छ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको क्षमता अभिवृद्धिका लागि पनि बजेट विनियोजन गरिएको अर्थमन्त्री डा खतिवडाले बजेट वक्तव्यमा उल्लेख गरेका छन् ।

Related Articles

Back to top button