News

नवराज विक र गणेश बुढामगरकाे अन्त्यष्टि: बाँचुन्जेल साथमा साथ, मरेपछि एकै घाट

सुर्खेत– भनिन्छ- ‘गाँस छुटोस् तर साथ नछुटोस्’। मित्रताको प्रगाढ सम्बन्धलाई अभिव्यक्त गर्ने यी शब्द प्रायः कमैको जीवनमा मेल खान्छन्। जीवनका विभिन्न परिस्थितिमा भेटिने र छुटिने साथीभाइको गन्ती हुँदैन। तर जाजरकोट भेरी नगरपालिका–४ नवराज विक र कुशे गाउँपालिका–२ का गणेश बुढामगरको मित्रता भने बाँचुन्जेल मात्रै होइन, मरेपछि पनि सँगसँगै भयो। गणेश बाआमासँगै सदरमुकाममै बस्दै आएका थिए।

‘छिमेकी भएपछि नवराज र गणेशको सम्बन्ध जिउँदाको जन्ती र मर्दाको मलामी मात्रै सीमित थिएन’,नवराजका शिक्षक जनक केसीले भने, ‘साथीका लागि एकअर्काले जस्तोसुकै काँध थाप्न तयार हुन्थे, घटना पनि त्यस्तै भयो।’ फुटबल खेलाडीसमेत रहेका उनीहरु प्रायः छुट्दैनथे। युवा जोश र ऊजाशील उमेरमा हाँस्दै खेल्दै रमाएका नवराज र गणेशलाई पश्चिमरुकुमको चौरजहारी नगरपालिका–८ सोतीमा हत्या भयो। नवराजकी प्रेमिकालाई बेहुलीका रुपमा भित्र्याउने सपना बोकेर सोती पुगेका उनीहरु कहिलै नफर्कने गरी बिदा भएका छन्।

सोही घटनामा मृत्युको सिकार बनेका भेरी नगरपालिका ४ सञ्जु (सन्दीप) विक, वडा नं. ११ का लोकेन्द्र सुनार र चौरहजारी नगरपालिका–१ टीकाराम सुनारको घाट एउटै हो।तर नवराज र गणेशको पार्थिव शरिरलाई बिहीबार भेरी नगरपालिका–१ को काले घाटमा हिन्दु परम्पराअनुसार अन्त्येष्टि गरिएको हो। शव दुर्गन्धित हुन थालेपछि पोस्टमार्टम रिपोर्ट नआउँदै अन्त्यष्टि गरिएको हो। टीकारामको भने बुधबार अन्त्येष्टि गरिएको छ।

सञ्जु र लोकेन्द्रको शव पोस्टमार्टम गरेपछि अन्त्येष्टिका लागि आज परिवारलाई बुझाइने जिल्ला प्रहरी कार्यालय जाजरकोटका डीएसपी किशोर श्रेष्ठले बताए। नवराज र सोतीकी मल्ल थरकी प्रेमिकाबीचको अन्तरजातीय प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्न शनिबार रुकुमपश्चिमको चौरजहारी नगरपालिका–८ सोती गएका थिए। तर अन्तरजातीय सम्बन्धकै कारण प्रेमिकाका आफन्तले नवराजसहित १८ जना साथीमाथि कुटपिट गरेका थिए।घटनामा ५ जना भेरी नदीमा मृत भेटिएका थिए भने १७ वर्षीय गोविन्द शाही भने अझै बेपत्ता छन्।

घटनामा संलग्न रहेको भन्दै मृतकका नवराज, गणेश र टीकारामका बुवाले चौरजहारी नगरपालिका–८ सोतीकी १७ वर्षीया प्रेमिका, उनका बुवा वीरबहादुर मल्ल, आमा प्रकाशी मल्ल, चौरजहारी नगरपालिका–८ का वडाध्यक्ष डम्बरबहादुर मल्ल र सोही गाउँका डिल्ली मल्ल, सन्तोष मल्ल, तुलबहादुर मल्ल, मानबहादुर मल्ल, रमेश मल्ललगायत २० जनाविरुद्ध किटानी जहोरी दिएका छन्।किटानी दिएकामध्ये १८ पक्राउ परिसकेका छन् भने बाँकी २ जनाको खोजी भइरहेको प्रहरीको भनाइ छ।

Related Articles

Back to top button