News

यस्तो दु:खद अवस्थामा छ जना पुरुष, दुइ महिला र एक बालको निधन

बर्दियाको गुलरिया नगरपालिकाको क्वारेन्टिनमा रहेका एक वृद्धको आज निधन भएको छ । गुलरिया– ४ स्थित बबई क्याम्पसको क्वारेन्टिनमा बसेका वडा नं ९ गोडियनपुर का ५५ वर्र्षीय जोधि गोडियाको बिहान निधन भएको प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले जानकारी दिनुभयो ।

ज्याला मजदूरीका लागि अछाम जानुभएका उहाँलाई तीन दिन पैदल हिँडेर मङ्गलबार घर फर्कने क्रममा क्वारेन्टिनमा राखिएको थियो । उहाँसँगै फर्किएका १६ जनालाई क्वारेन्टिनमा राखिएको छ । उहाँको स्वाब परीक्षण रिपोर्टपछि मात्रै कोरोना भए नभएको थाहा हुने जनस्वास्थ्य कार्यालयका प्रमुख गोकर्ण गिरीले बताउनुभयो ।

त्यस्तै घरको छत ढलान गर्ने क्रममा वर्षासँगै परेको चट्याङको झड्का लाग्दा खसेर सिन्धुलीमा आज एक जनाको निधन भएको छ । निधन हुनेमा कमलामाई नगरपालिका–४ देउरालीका ४२ वर्षीय वासु सापकोटा रहेका छन् । कमलामाई नगरपालिका–६ रातमाटास्थित घरको तेस्रोतला ढलान गर्ने क्रममा वर्षासँगै परेको चट्याङको झड्का लाग्दा घरको छतबाट खसेर गम्भीर घाइते भएका वासुलाई उपचारका लागि सिन्धुली अस्पताल लैजाने क्रममा बाटोमै निधन भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक श्यामबहादुर खत्रीले जानकारी दिनुभयो ।

त्यस्तै पोखरामा नदीले बगाएर एक व्यक्तिको निधन भएको छ । पोखरा महानगरपालिका वडा नं १ गाईघाट शान्तिचोक बस्ने ६५ वर्षीय मानबहादुर परियारको मङ्गलबार नदीले बगाएर निधन भएको प्रदेश प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजेन्द्रबाबु रेग्मीले जानकारी दिनुभयो । प्रहरीका अनुसार सोही स्थानको गाईघाट नदीमा हातखुट्टा धुने गएका परियारको शव काली र सेती खोलाबीचको खोँचमा शव फेला परेको थियो ।

त्यस्तै भारतको गुजरातबाट वीरेन्द्रनगर आइपुगेका एक युवाको मङ्गलबार राति निधन भएको छ । सुर्खेतको चिङ्गाड गाउँपालिका–५ का २२ वर्षीय वीरेन्द्र रोकायाको प्रदेश अस्पताल कालागाउँ पुग्ने क्रममै बाटोमा निधन भएको हो । मङ्गलबार नेपालगञ्जबाट चिङ्गाड जाने बसमा चढेका ती युवालाई असजिलो भएपछि सुर्खेतको सुब्बाकुनाबाट एम्बुलेन्समार्फत प्रदेश अस्पताल पु¥याइएको थियो । अस्पतालका कोरोना फोकल पर्सन डा केएन पौडेलले अस्पतालमा भर्ना हुनेबित्तिकै आफूहरुले जाँच गर्दा उनी मृतावस्थामा रहेको बताउनुभयो । “राति साढे १२ बजेतिर खबर पाउनेबित्तिकै हामी जाँच गर्न गयौँ, उनको निधन भइसकेको रहेछ”, डा पौडेलले भन्नुभयो ।

अस्पतालका निर्देशक डा डम्बर खड्काले मृतक युवकका साथै उनको साथमा एम्बुलेन्समा आएकाहरुको स्वाब सङ्कलन गरी कोरोना परीक्षण कार्य भइरहेको र दिउँसोसम्म रिर्पोट आउने जानकारी दिनुभयो । आफन्तका अनुसार ती युवामा बाथरोगसम्बन्धी समस्या थियो ।

त्यस्तै क्वारेन्टिन व्यवस्थामा जुटेका कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नं ७ का वडाध्यक्ष ५८ वर्षीय कल्लु रानाको गएराति निधन भएको छ । राष्ट्रिय माध्यमिक विद्यालयमा रहेको क्वारेन्टिनमा कुर्सीमा बसेर फोन गरिरहेका बेला एक्कासी बेहोस भएका रानाको निधन भएको हो । राना साँझपख घरमा पुगी नुहाइ राना खाना खाएर क्वारेन्टिन पुगेका थिए ।

नयाँ क्वारेन्टिन स्थापना गरिएको थियो नगरप्रमुख कर्णबहादुर हमालले भन्नुभयो, “राति व्यवस्थापनबारे जानकारी लिनका लागि क्वारेन्टिनमा पुगेका उहाँको निधन भएको छ ।” वडाध्यक्ष रानामा कुनै पनि रोगको लक्षण यसअघि नदेखिएकाले हृदयाघातका कारण उहाँको निधन भएको हुनसक्ने उहाँले बताउनुभयो । निधन भएका रानाको शव परीक्षणका लागि राति नै सेती प्रादेशिक अस्पताल धनगढीमा पु¥याइएको छ । अस्पतालमा मृतक रानाको शव परीक्षणपश्चात स्वाबको नमूना सङ्कलन गरी परीक्षण गरिने बताइएको छ ।

त्यस्तै स्वास्थ्यचौकीको भवन निर्माणका लागि बालुवा निकाल्ने क्रममा मङ्गलबार पुरिएर नलगाड नगरपालिका–९ तात्रका ३३ वर्षीया कुमारी सिंहको घटनास्थलमै निधन भएको छ । मृतक कुमारीका श्रीमान् ३५ वर्षीय एकराज सिंहलाई उपचारका लागि नेपालगञ्ज लैजाँदै गर्दा बुधबार बिहान भेरी नगरपालिका–१ को रावतगाउँमा निधन भएको स्थानीयवासी नवराज सिंहले जानकारी दिनुभयो ।

सिंह दम्पतीसहित खिरखिरेस्थित बालुवा निकालिरहेका सोही गाउँका कमला सिंह, तारा सिंह, लक्ष्मी सिंह र तारा सिंहको अहिले नलगाड नगरपालिकाको प्रशासकीय केन्द्र दल्लीमास्थित स्वास्थ्यचौकीमा उपचार भइरहेको छ । समयमा उपचार नपाउँदा एकराजको निधन भएको पीडितको भनाइ छ ।

त्यस्तै हावाहुरीका कारण मकवानपुरमा एक बालकसहित दुई जनाको निधन भएको छ । मंगलबार साँझा एक्कासी आएको हावाहुरीले रुख ढल्दा राक्सीराङ–५ चैनपुरका ३५ वर्षीया वीरमाया प्रजा र राक्सीराङ–३ का छ वर्षीय बालक आयुष मगरको निधन भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

साथै घाइते तीन जनालाई उपचारका लागि चितवन लगिएको छ । त्यसैगरी हावाहुरीले हेटौँडालगायत मकवानपुर जिल्लाको विभिन्न स्थानमा कर्कटपाताले निर्माण गरिएका घरका छानासमेत उडाएको छ । हावाहुरीले लाखौँ मूल्य बराबरको फलफूल, तरकारी नष्ट गरेको छ । खेतमा लगाइएको भिण्डी, घिरौला, बोडी, लौका, सिमी, काउलीका साथै मकैबाली र आँपमा समेत क्षति पु¥याएको जिल्ला कृषि ज्ञान केन्द्र मकवानपुरले जनाएको छ । त्यसैगरी हावाहुरीले हेटौँडास्थित फरेष्टी कलेजमा एक दर्जन सालको रुख ढालेको र विद्युत् खम्बासमेत ढलेको सो कलेजले जनाएको छ ।

Related Articles

Back to top button
Close