News

पहिलो चरणमा विदेशबाट २५ हजार नेपाली ल्याउने

सरकारले तत्कालका लागि २५ हजार नेपालीलाई स्वदेश फिर्ता ल्याउने भएको छ । भारत, बंगलादेश र खाडी मुलुक लगायतका देशमा रहेकालाई पहिलो प्राथमिकतामा स्वदेश फिर्ता ल्याउन लागिएको हो ।

सरकारले विभिन्न चरणमा गरेर नेपालीको उद्धार गर्ने नीति तर्जुमा गर्दै पहिलो चरणमा जोखिममा परेका, टिकट लिएर आउन नपाएका, विभिन्न आरोप लागेर आम माफी पाएकाहरुलाई ल्याउने भएको छ ।

कोरोना भाइरस नियन्त्रण तथा रोकथाम समन्वय उच्च स्तरीय समितिले उद्धारको मोडालिटी बनाउदै निर्णयका लागि मन्त्रिपरिषद् बैठकमा पेश गर्ने तयारी गरेको छ । उद्धार गरि ल्याएकालाई नेपाली सेनाले व्यवस्थापन गर्ने र सम्वन्धित स्थानीय तहमा पठाउने छ ।

समितिका सचिव समेत रहेका प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायणप्रसाद विडारीले भारत तथा तेस्रो मुलुकमा रहेका नेपालीहरुलाई ल्याउने विषयमा कार्ययोजना तयार गरिएको बताए । उनले यद्यपी केही विषय टुंगोमा पुग्न बाँकी रहेकाले मन्त्रिपरिषद्ले नै अन्तिम निर्णय गर्ने जानकारी दिए ।

Related Articles

Back to top button
Close