News

संक्रमित श्रीमान् कोरोनाको क्याम्पमा, श्रीमती चाहिँ सडकको ड्युटीमा

काठमाडौं : इमोबाट भिडियो कल अन हुन्छ। दैनिक सम्पर्कलाई यसैले जोडेको छ। तर, यसपटक भने भिडियोमा देखिएका दृश्यले लीलाको आँखामा केही बिझाएँ झै भयो। नियमित देखेभन्दा फरक दृश्य। मानिस उही तर ठाउँ फरक। सधैँ एउटै पृष्ठभूमिबाट बोलिरहने लीलाका श्रीमान् फरक ठाउँमा देखिए। स्थान परिवर्तनले उनको मनमा शङ्का उब्जिनु स्वाभाविक बन्यो।

‘तपाईँ कहाँ हो? तपाईँ मसँग झुट बोलिरहनु भएको हो?’उनले प्रश्नपछि प्रश्न गरिन्।’जो हो त्यही भन्नु।’भिडियो कलबाटै उनले कौतुहलता सहित प्रश्न गरिन्। उनले अब श्रीमतीलाई झुट बोल्न सक्दैन थिए। तरऽ उनले हत्तपत्त केही भन्न सकेनन्।अन्ततः नभनिरहन पनि सकेनन्।

‘मेरो रिपोर्टमा पोजेटिभ देखायो। त्यसैले कोठाबाट यहाँ ल्याएर राखेका छन्,’ उनले श्रीमतीलाई भने।श्रीमानको कोरोना सङ्क्रमण रिपोर्ट पोजेटिभ आएको सुनेपछि उनको होसहवास नै गुम्यो। मन चिसो भयो। हातखुट्टाहरू कापे जस्तै भए। दिनै सङ्क्रमितको सङ्ख्या र मृत्युको खबर सुनिरहेका बेला आफ्नै श्रीमानले आफूलाई कोरोना भएको छ भन्दा कसको मनले ठाउँ नछोड्ला र! उनमा पनि भयो त्यही।

लीलालाई त्यो क्षण सम्झँदा पनि ऐठन हुन्छ। त्यो अवस्था सम्झिएर बोल्ने शब्द नै भेट्दिनन्। उनलाई खोज्नु पनि छैन। उनमा आत्मबल बलियो छ। थाहा छ कोरोना संक्रमित उनका पति सजिलै जितेर फर्किने छन्। कतारमा कोरोना संक्रमित भएका नेपालीको संख्या ७ हजारभन्दा धेरै छन्। लीलाका श्रीमान् तिनैमध्येका एक प्रतिनिधि पात्र पनि हुन्।

सरकारले लकडाउन घोषणा गरेपछि लीलाको दैनिकी फेरिएको छ। बिहान १० बजेसम्म घरको सबै काम सकाउँछिन्। छोरीलाई पकाएर खुवाउँछिन् अनि सुरु हुन्छ पेशागत काम।

पोशाक लगाउँछिन्,स्कुटर लिएर निस्किन्छिन्। साथमा स्यानिटाइजर, मास्क, पन्जा, चस्मा लगायत कोरोना सङ्क्रमणबाट जोगिन लगाउने सुरक्षाका सामाग्री भने टुट्दैन। झन् आफ्नै विरादरीका मानिसमा कोरोना सङ्क्रमण देखिन थालेपछि झनै सजकता अपनाउनु पर्ने देखिएको छ। त्यसैले उनी सचेत छिन्।पहिलोपोस्ट बाट साभार

Related Articles

Back to top button
Close