News

काठमाडौँका ३ संक्रमित : समाजसेवी, किराना पसले र ट्रक ड्राइभर

काठमाडौं, १२ जेठ । काठमाडौंमा सोमबार थपिएका ३ संक्रमितमा एक समाजसेवी, एक किराना पसले र एक जना ट्रक ड्राइभर भएको खुलेको छ ।

सोमबार बिहान देशभर एकैपटक ७२ संक्रमित थपिँदा काठमाडौंमा पनि ३ जनालाई संक्रमण भएको सार्वजनिक भएको थियो । संक्रमितमा टोखा नगरपालिकाका २ जना र बुढानिलकण्ठका १ जना रहेका छन् । उनीहरुको उमेर २७ , ४१ र ३७ वर्ष रहेको र तीनै जना पुरुष रहेको पनि बताइएको छ ।

बुढानिलकण्ठका संक्रमित समाजसेवी रहेको बताइएको छ । बुढानिलकण्ठ क्षेत्रमा कसैलाई साह्राेगाह्राे पर्दा उनैले आफ्नो निजी गाडी प्रयोग गरेर सहयोग गर्दै आएका थिए । एम्बुलेन्सझैँ बनेको उनको गाडीले धेरै बिरामीको ओसारपसार गरेको बताइएको छ । यही क्रममा उनलाई संक्रमण सरेको हुन सक्ने अनुमान गरिएको छ ।

बुढानिलकण्ठ नगरपालिकाले गत साता गरेको दुई सय बढीको परीक्षणका क्रममा उनीमा संक्रमण पोजिटिभ पाइएको हो । यस्तै टोखाका एक जना संक्रमित ग्राण्डी अस्पतालनजिक रहेको फुटसल मैदानको उत्तरतर्फ किराना पसल सञ्चालन गर्दै आएका पसले भएको र अर्का एक जना ट्रक ड्राइभर भएको खुलेको छ ।

टोखा नगरपालिकाले गत साता नगरपालिकाभित्रका तरकारी, औषधि, किराना पसल सञ्चालक र जनप्रतिनिधिको गरी कुल ३०६ जनाको थ्रोट स्वाब संकलन गरेको थियो । परीक्षणपछि २ जनामा संक्रमण पोजिटिभ देखिएको हो ।

Related Articles

Back to top button
Close