News

एकै ठाउँमा ११४ जना कोरोना संक्रमित भेटिएर भयावह भएपछि सेना पठाउने तयारी

नेपालगन्ज । बाँकेको नरैनापुर गाउँपालिकामा सेना पठाउन गृहकार्य थालिएको छ । कोभिड संक्रमणका कारण पालिकाको स्थिति नियन्त्रण बाहिर गैरहेको भन्दै प्रदेश र स्थानीय सरकार गुहारेको उक्त पालिकमा जिल्ला सुरक्षा समितिलेनै सेना पठाउन गृहकार्य थालेको हो । पालिकामा कोडभ संक्रमितको संख्या थपिंदै गएपछि स्थानीय सरकारका प्रमुख इस्तियाक अहमद शाहले यसअघि नै पालिकाको नियन्त्रण बाहिर अवस्था पुगिसकेकको बताउँदै आएका थिए । सेना परिचालनका लागि लेखिपठाइएको छ, सुरक्षा स्रोतले भन्यो ।

नरैनापुर गाउँपालिकामा मात्रै कोभिड संक्रमितको संख्या १ सय १४ पुगिसकेको छ । जसमध्ये २७ जना शनिबार थपिएका हुन् भने एक जनाको यसअघि मृत्यु भैसकेको छ । राप्ती विज्ञान प्रतिष्ठान दाङमा गरिएको स्वाब परीक्षणको क्रममा २७ जनामा कोभिड पुष्टि भएको हो । सबैलाई आइसोलेसन अस्पतालमा व्यवस्थापन गरिसकिएको सहायक प्रमुख जिल्ला अधिकारी हरी प्याकुरेलले जानकारी दिए ।

बाँकेमा विकट मानिएको नरैनापुमा अहिलेसम्म क्वारेन्टाइनमा रहेकाहरुको स्वाब संकलन र परीक्षण भैरहेको छ । क्वारेन्टाइनले मापदण्ड पूरा गर्न नसकेको भन्दै यसअघि नै अदालतमा रिट परिसकेको छ । क्वारेन्टाइनमा बस्नेहरु समेत अनुशासित नरहेको स्थानीयले जानकारी दिएका छन् । नरैनापुरमा कोभिड विरुद्ध समुदायबाट नै पालिका, स्वास्थ्यकर्मी र प्रशासनले सहयोग पाउन सकेको छैन । कोभिड पोजेटिभ बिरामीहरु आइसोलेसनका लागि ल्याउनका लागि पटकपटक अवरोध हुने गरेको छ । शुक्रबार पोजेटिभ भेटिएका १३ जनालाई आइसोलेसनमा लैजान नदिने भन्दै क्वारेन्टाइनबाटै भगाइएको समाचार सञ्चारमाध्यममा आइसकेको छ । प्रहरीले जोखिम मोलेरै भएपनि उनीहरुलाई खोजेर आइसोलेसनमा राखेको छ ।

‘प्रदेश ५ कै पिछडिएको र सीमा क्षेत्र भएकाले समुदायको चेतनाको स्तर निकै कम छ’, पालिकाका प्रमुख प्रशासकीय अधिकृत मणिराम खनालले जिल्ला प्रशासनलाई लेखेको पत्रमा उल्लेख छ, ‘मधेसी र मुस्लिम समुदाय रहेको यस पालिकामा कोरोना भाइरसको बारेमा अन्धविश्वास कायमै छ ।’ पालिकाले प्रशासनलाई लेखेको पत्रको बोधार्थ प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालय, संघीय मामिला तथा स्थानीय प्रशासन मन्त्रालय, प्रदेश ५ को मुख्यमन्त्रीको कार्यालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालय प्रदेश ५, जिल्ला सुरक्षा समिति बाँके, कोरोना भाइरस संक्रमण, नियन्त्रण तथा व्यवस्थापन समिति बाँकेलाई दिएको हो । नेपालगन्ज न्युजवाट साभार

Related Articles

Back to top button
Close