News

कोरोना महामारीका कारण ६ महिनाभित्रमा दुबईका ७० प्रतिशत कम्पनी बन्द हुने

काठमाडौं। विश्वव्यापी रुपमा फैलिएको कोरोनाभाइरस महामारीका कारण दुबईका ७० प्रतिशत कम्पनी अबको ६ महिनाभित्रमा बन्द हुने एक रिपोर्टमा खुलासा भएको छ । दुबई च्याम्बर अफ कमर्सले गरेको एक सर्वेक्षणमा विश्वव्यापी लकडाउनका कारण ती कम्पनीहरु बन्द गर्न बाध्य हुने उल्लेख गरिएको छ । कोभिड१९ को महामारीका कारण उत्पन्न जटिल परिस्थिति त्यसका लागि जिम्मेवार भएको दुबई चेम्बर अफ कमर्सको भनाइ छ।

कोभिड–१९ का कारण उत्पन्न परिस्थितिबारे चेम्बरले हालै एक सर्वे गरेको थियो, जसको रिपोर्ट हिजो साँझ सार्वजनिक गरेको हो। सन् २०२० को पहिलो त्रैमासिकमा दुबईका ९० प्रतिशत कम्पनीको बिक्री र कारोबारमा भारी गिरावट देखिएको रिपोर्टमा उल्लेख छ।
महामारीको कारण सिर्जित विश्वव्यापी आर्थिक मन्दीको सबैभन्दा ठूलो असर साना र मझौला उद्योगमा परेको सर्वेक्षणमा देखिएको छ। पर्यटन, रियल स्टेट, होटेल र रेस्टुराँ तथा रिटेल उद्योग सञ्चालकहरू सर्वेका क्रममा आफ्नो कारोबारमा ७० प्रतिशत गिरावट आइसकेको बताएका थिए। सन् २०२० को दोस्रो त्रैमासिकमा अझ बढी मन्दी देखिने उनीहरूको भनाइ छ।

सर्वेमा सहभागी ४८ प्रतिशत कम्पनीका सञ्चालकले महामारीबाट बच्न आफूहरूसँग कुनै योजना नरहेको बताएका छन्। कामदारलाई कम असर परोस् भनेर स(साना योजना भने उनीहरूले बनाएको पाइएको छ। चेम्बर अफ कमर्सले कम्पनीहरूलाई कानूनी कारवाहीबाट राहत, भाडा छुट, सरकारी खर्चमा कमी र सरकारी शुल्क मिनाहाका लागि सरकारसँग आग्रह गरेको छ। संयुक्त अरब इमिरेट्समा २७ हजारजना कोरोना भाइरसको संक्रमणमा परेका छन्। पछिल्लो २४ घण्टामा आठ सय ९२ जना संक्रमित थपिएका छन्।

Related Articles

Back to top button
Close