News

थप तीन जनामा कोरोना पुष्टि : संक्रमितको संख्या ४५७ पुग्यो

काठमाडौं : बिहीबार साँझ थप तीन जनामा कोरोना पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार योसँगै संक्रमितको संख्या ४५७ पुगेको छ।

साँझ भेरी अस्पताल, नेपालगञ्ज र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला, रुपन्देहीमा गरिएको परीक्षणमा नयाँ तीन जनामा कोरोना पुष्टि भएको हो। कोरोना पुष्टि हुने बाँके नरैनापुर ३ का ३२ वर्षीय पुरुष, खजुरा–३ की ४२ वर्षीया महिला र कपिलवस्तु सुद्दोधन गाउँपालिकाका १९ वर्षीय पुरुष छन्।

उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ। यसअघि बिहीबार बिहानै १७ र दिउँसो ९ गरेर २७ जनामा कोरोना पुष्टि भएको थियो। योसँगै बिहीबार मात्र २९ जनामा कोरोना पुष्टि भएको छ। नेपालमा कोरोना संक्रमितको संख्या ४५७ पुग्दा कोरोनाकै कारण तीन जनाको मृत्यु भइसकेको छ। ४९ जनाले भने कोरोना जितेर डिस्चार्ज भएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार बिहीबार दिउँसो झापाका आठ र रुपन्देहीका एकसहित ९ जनामा कोरोना पोजिटिभ पुष्टि भएको हो । झापाका संक्रमित सबै आठैजना पुरुष हुन् । झापाका संक्रमितहरु सबै कचनाकवल गाउँपालिकाको लक्ष्मी देवकोटा माविको क्वारेन्टाइनमा बसेका व्यक्ति हुन् । बिहीबार बिहान बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला, विराटनगरमा गरिएको परीक्षणमा १७ जना नयाँ संक्रमित पुष्टि भएको थियो ।

उनीहरुसमेत झापा, कचनकवल गाउँपालिका-३, ६, ८ निवासी १८, १८, १९, १९, २२, २३, २३, २५, २६, २६, २८, ३०, ३२, ३७ र ४६ वर्षीय १५ जना पुरुष हुन् । त्यसैगरी धनकुटा निवासी ३४ वर्षीय पुरुष, सुनसरी र धरान उप-महानगरपालिका निवासी ५१ वर्षीया महिला थिए । योसँगै झापामात्र बिहीबार २४ जनामा कोरोना पोजिटिभ पुष्टि भएको छ । बिहीबार कुल २७ जनाका कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

बिहीबार गुल्मीका कोरोना संक्रमित ४१ वर्षीया पुरुषको मृत्यु भएको छ। रुपन्देहीको मणिग्रामस्थित क्रिमसन अस्पतालमा उपचाररत उनको बिहीबार विहान ८ बजेर १० मिनेटमा मृत्यु भएको हो। जेठ १ गते उपचारका लागि क्रिमसन अस्पतालमा आएका उनको दुई गते स्वाब संकलन गरिएको थियो। जेठ ५ गतेमात्रै उनका कोरोना पोजेटिभ देखिएको थियो । उनको मृत्युसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या तीन पुगेको हो । प्रदेश ५ मै दुई जनाको मृत्यु भएको छ। सिन्धुपाल्चोककी एक महिलाकोसमेत मृत्यु भइसकेको छ ।

Related Articles

Back to top button
Close