Wednesday, June 29

ड्राईभिङ लाईसेन्सको अनलाइन आवेदनबारे अबदेखी नयाँ व्यवस्था

June 23, 2022 878

सवारी चालक अनुमतिपत्र (लाइसेन्स)का लागि अनलाइन आवेदनमा एउटै आवेदकले फरक-फरक नम्बर प्रयोग गरी प्रोफाइल बनाएर भर्ने बढेपछि विभागले त्यसो नगर्न भनेको छ।

यातायात व्यवस्था विभागले मंगलबार सूचना जारी गर्दै एउटै चालकले फरक-फरक मोबाइल नम्बर प्रयोग गरी लाइसेन्सको फाराम भर्न थालेको जानकारीमा आएकोले त्यसो नगर्न भनेको हो।

यसरी भरिएका दुवै फाराम त्रुटि हुने भएकाले त्यसो नगर्न विभागले अनुरोध गरेको छ। विभागका अनुसार यस्तो थाहा पाएपछि अब मोबाइल नम्बर र नागरिकता नम्बरबाट एउटा मात्रै फाराम भर्न मिल्ने बनाइएको छ। फरक-फरक मोबाइल नम्बर तर नागरिकता नम्बर एउटै भएमा चालकले भरेको फाराम त्रुटि हुने विभागले जनाएको छ।

यसैगरी अनलाइन प्रोफाइल बनाउने क्रममा फारम भर्दा यस्तै कुनै त्रुटि भएको भए नजिकको यातायात व्यवस्था कार्यालयमा गई त्रुटिपूर्ण विवरण हटाएर फेरि नयाँ विवरण भर्न समेत विभागले अनुरोध गरेको छ।

आफूले आवेदन दिइसकेपछि रोजेको मिति र कार्यालयमा सम्पर्क राखेर परीक्षा र ट्रायल दिन सकिने व्यवस्था छ। हाल प्रत्येक दिन बिहान ७ देखि १६ दिनको लागि भनेर नयाँ फाराम भर्न पाइने व्यवस्था छ। यसले १५ दिनभित्रै सवारी लाइसेन्सको लिखित र ट्रायल हुने गरेको छ।

Comment