Saturday, May 21

उम्मेदवारलाई विष खुवाएको भन्दै चक्का जाम

May 9, 2022 250

वैशाख ३० गते हुने स्थानीय तहको चुनाव प्रचार प्रसार उत्कर्ष रहेको सर्लाही तनावग्रस्त बनेको छ। नेकपा माओवादी केन्द्रबाट सर्लाहीको हरिवन नगरपालिका ११ का वडाध्यक्ष तथा सदस्य पदका ३ जना उम्मेदवारलाई घरदैलो अभियानको क्रममा मिठाइ खुवाउँदा बेहोस भएपछि हरिवन क्षेत्र तनावग्रस्त बनेको हो।

चुनाव प्रचार प्रसार अभियानको क्रममा मतदाताको घरदैलो पुगेका माओवादी केन्द्रका वडाध्यक्ष उम्मेदवार शेख इस्तिहार र वडा सदस्यका दुई महिला उम्मेदवारलाई एक मतदाताको घरमा मिठाइ खुवाइएको थियो। उम्मेदवारलाई स्वागत र सम्मान गरी मिठाइ खुवाइएको भन्दै तिनै जनाले मिठाइ खाएका थिए।

मिठाइ खाएको केही बेरमै वडाध्यक्ष उम्मेदवार इस्तिहारको स्वास्थ्यमा गडबडी भएको थियो। रिंगटा लागेर ढलेका इस्तिहारलाई स्थानीय स्वाभिमान अस्पतालमा भर्ना गरिएको थियो। मिठाइ खाएका अन्य दुई महिला उम्मेदवारको स्वास्थ्यमा पनि गडबडी उत्पन्न भएपछि दुवैलाई उपचारको लागि अस्पतालमा भर्ना गरिएको थियो।

उपचारको क्रममा अझ समस्या जटिल भई वडाध्यक्ष उम्मेदवार इस्तिहार बहोस भएपछि हरिवनको अवस्था तनावग्रस्त बनेको थियो। आइतबार साँझसम्म हरिवनमा माओवादी केन्द्रका कार्यकर्ताहरुले आफ्ना उम्मेदवारलाई सुनियोजित तरिकाले विष दिएको भन्दै प्रदर्शन गरेका छन्। माओवादी कार्यकर्ताहरुले पूर्वपश्चि राजमार्ग जाम गरेका छन्। जाममा हजारौँ यात्रु अलपत्र परेको जनाइएको छ।

माओवादी केन्द्रका उम्मेदवार इस्तिहारलाई थप उपचारको लागि वीरगंज पठाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। सर्लाहीका प्रहरी प्रमुख एसपि प्रवीण पोखरेलले हरिवनको स्थिति नियन्त्रणमा रहेको र घटनाबारे अनुसन्धान भइरहेको जानकारी गराएका छन्।

Comment