News

काेराेना जितेर बिदा भए नारायणी अस्पतालका ४ जना संक्रमित

पर्सा : भारतका ३ जना मुस्लिम जमातीसहित रौतहटका एक युवक आइतबार कोरोना संक्रमणलाई जितेर अस्पतालबाट बिदा भएका छन्। उनीहरुलाई पर्साको वीरगन्जस्थित नारायणी अस्पतालमा भर्ना गरिएको थियो।

चैत ३० गते कोरोना संक्रमण पुष्टि भएका ३ मुस्लिम जमाती र वैशाख २ गते रौतहटबाट नारायणी अस्पतालमा उपचार गर्न ल्याइएका एक युवक ठिक आइतबार घर फर्किएका नारायणी अस्पतालका मेसु डा मदन कुमार उपाध्ययाले बताए।

उनीहरुलाई अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले कोरोना जित्न सफल भएको भन्दै फूलमालासहित बिदाइ गरेका छन्। कोरोना संक्रमित चारै जनाको स्वास्थ्य अवस्था ठिक भएको र लगातार तीन पटकको स्वास्थ्य परीक्षण गर्दा रिपोर्ट पनि नेगेटिभ आएको थियो। डिस्चार्ज गरिएकामध्ये रौतहटका एक युवा र भारतका तीन जना मुस्लिम जमाती छन्।

चार जना बिदाइ गरिए पनि आइतबारै अरु २ जनामा कोरोना संक्रमित नारायणी अस्पतालमा थपिएका छन्। नारायणी अस्पतालमा अझै तीन जना कोरोना संक्रमित रहेका छन्।

वीरगन्ज महानगरपालिका वडा नम्बर २ छपकैया स्थित ‘मक्का जामे मस्जिद एतिमखाना डारुल यतामा इस्लामिया’ संक्रमित मुस्लिम बस्दै आएका थिए। उनीहरुलाई अब वीरगन्जकै छपकैयास्थित इजगाहा छेउको ३ तले घरमा सुरक्षित राख्ने गरी बिदा गरिएको कमाण्ड पोस्ट पर्साले जनाएको छ।

उनीहरुलाई स्थानीय मुस्लिम अगुवा र मुस्लिम आयोगका प्रतिनिधिको जिम्मा लगाइएको अस्पतालले पनि जनाएको छ। वैशाख १ गते रौतहटमा कोरोना पुष्टि भएका रौतहटका युवकलाई पनि उनकै आफन्तको जिम्मा लगाई रौतहट नै पठाइएको नारायणी अस्पतालका मेसु डा उपाध्यायले बताए। उनलाई सिटी हस्पिटल गौरको एम्बुलेन्समा राखेर आफन्तसँग रौटहट पठाइएको छ।

रौतहटमा आइसोलेसन वार्डसहितको उपचार गर्ने अस्पताल नभएपछि ती युवकलाई पनि वैशाख २ गते नारायणी अस्पतालमा भर्ना गरिएको थियो।

Related Articles

Back to top button