काठमाडौं : भरतपुर महानगरको मेयरकी उम्मेदवार रेणु दाहालको पक्षमा बोल्दा हास्य कलाकार सन्दीप क्षेत्रीको आलोचना भएको छ। बिहीबार भरतपुरमा आयोजित कार्यक्रममा दिएकाे अभिव्यक्तिका कारण उनी आलोचित भएका हुन्।
प्रधानमन्त्री शेरबहादुर देउवा तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल उपस्थित कार्यक्रममा पुगेका सन्दीपले दाहालको खुलेर तारिफ गर्दै स्थानीय चुनावका लागि शुभकामना दिएका थिए। अहिलेसम्म कुनै पनि पार्टीको साधारण सदस्यतासमेत नलिएको बताएका उनले रेणुको कामबाट आफू निकै प्रभावित भएको बताउँदै प्रचण्डलाई रेणु दाहाल जस्तो छोरी पाएकोमा ढुक्क हुनसमेत आग्रह गरेका थिए।
रेणु दाहाल भन्दा बुवासँग नाम जोडिने भन्दै उनलाई रेणु दिदी भनेर सम्बोधन गरेका उनले दाहालको कामबाट प्रभावित भएर उक्त कार्यक्रममा स्वःस्फूर्त रुपमा उपस्थिति जनाएको पनि बताएका थिए।
चुनावको लागि शुभकामना दिँदै उनले भनेका थिए, ‘तपाईंलाई मेरो इष्ट, कुलको आशिष लागोस्, तपाईंले गर्न खोजेका सबै कामको लागि म शुभकामना दिन चाहन्छु। तर यो भन्दाभन्दै फेरि भन्छु म कुनै झण्डाको, पार्टीको मान्छे होइन। तपाईंले गरेको कामबाट प्रफुल्लित भएर आएको मान्छे हुँ। भोको मान्छे हुँ, केही दिँदा बडो खुशी लागेको हो।’ साथै गलत काम गरेको खण्डमा तिनै कुल, इष्ट, पितृको श्राप पनि लाग्न सक्ने भन्दै सचेत पनि गराएका थिए।
राजनीतिक अराजकताको विरोधमा बोल्दै, व्यंग्य गर्दै आएका सन्दीपको पछिल्लो अभिव्यक्तिले उनका फ्यान आक्रोशित भएका छन्। उनको सामाजिक सञ्जालमा उनलाई माओवादीको झोले तथा प्रलोभनमा परेर यस्तो अभिव्यक्ति दिएको आरोप लगाएका छन्।
यस विषयमा सन्दीपले भने कुनै प्रतिक्रिया दिएका छैनन्
Comment