International

उत्तर कोरियाली शासक किम जोङ मुटुकाे शल्यक्रियापछि कोमामा

एजेन्सी, १४ वैशाख । उत्तर कोरियाली नेता किम जोङ उनको स्वास्थ्य अवस्था गम्भीर रहेको विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।उत्तर कोरियाका शासक किमको स्वास्थ्य स्थिति खराब भएकोले चीनले शनिबार मात्र विशेषज्ञ टोली उत्तर कोरिया पठाएको थियो । उनको मुटुको शल्यक्रियापश्चात हाल कोमामा रहेको समाचार एजेन्सीहरुले जनाएका छन् ।

जापानी मिडियाहरूले पनि किमको मुटुको शल्यक्रियापछि बेहोस अवस्थामा रहेको जनाएका छन् । जापानको साप्ताहिक पत्रिका शुकान गेनडाईले शुक्रबार एक रिपोर्टमा उत्तर कोरियाका तानाशाह मुटुको शल्यक्रियापछि अचेत अवस्थामा रहेको उल्लेख गरेको थियो । समाचार अनुसार किमको मुटुमा अचानक समस्या देखिएपछि शल्यक्रिया गरिएको छ ।

किमको चिकित्सकीय टोलीले चीनसँग सल्लाह र सहयोग मागेपछि विशेषज्ञ टोली आवश्यक औषधी चीनले पठाएको छ । उत्तर कोरियाली चिकित्सकले चिनियाँ मेडिकल ग्रुपलाई कुर्न सम्भव नठानेर आफै अपरेसन गरेको समेत बताइएको छ ।

हङकङ स्याटेलाइट टेलिभिजन (एचकेएसटीवी)ले भने विश्वस्त स्रोतकाे दाबी भन्दै उत्तर कोरियाली शासक किमकाे ३६ बर्षको उमेरमा नै मृत्यु भइसकेको बताएको छ । केही अन्य मिडियाहरूले पनि उनकाे मृत्यु भएकाे वा बेहाेस रहेकाे लेखे पनि यसकाे अाधिकारिक पुष्टि भने हुन सकेकाे छैन ।

पछिल्लो समय किम त्यहाँका महत्वपूर्ण सार्वजनिक समारोहमा पनि सहभागी नदेखिएको बताइएको छ । यही अप्रिल १५ मा आफ्ना हजुरबुवा तथा उत्तर कोरियाका संस्थापक नेताको जन्मजयन्ती मनाउन आयोजित कार्यक्रममा उनी सहभागी नभएपछि त्यहाँ अनेक अड्कलबाजी गरिँदै आएको थियो ।

Related Articles

Back to top button
Close