News

अस्पतालका बिरामीको सेवा गर्दा परिवारै संक्रमित : ‘सपरिवारै बिरामी हुँदा यसरी जित्यौं कोरोना’

अमेरिकाको न्युयोर्कमा ९ बर्षदेखि नर्सिङ पेशामा आवद्ध आशा साहले मार्चको तेश्रोसातातिर आफूले काम गर्ने जकोभी मेडिकल सेन्टर ब्रोंक्समा कोभिड संक्रमित बिरामीको सेवा गर्नुपर्यो । उनले लगातार तीनरातसम्म हेरचाह गरेका एकजना बिरामीमा कोरोना पोजेटिभ देखियो ।

आफ्नो अस्पतालमा काम गर्ने केही स्टाफहरुमा पनि कोरोना संक्रमण भएपछि र आफूले सेवा गरेका बिरामीहरुमा पनि कोरोना पुष्टी भएपछि आशालाई आफूलाई पनि कोरोना संक्रमण होला कि भन्ने आशंका थियो । अर्थात् आफू जोखिममा रहेको कुरा उनलाई थाहा थियो । तर कोरोना संक्रमण भइहाल्ला भन्ने चाँही लागेको थिएन ।

आशाले सर्जरी युनिटमा काम गर्ने भएकाले यो युनिटलाई सुरक्षित युनिटका रुपमा मानिएको थियो । किनभने यदि कुनै बिरामीहरुमा कोभिड १९ को लक्षण देखिएमा उनीहरुलाई सिधै अर्को युनिटमा पठाउने गरिएको थियो । तर जब उनले सेवा गरेका केही बिरामीमा कोरोना पोजेटिभ देखिनुका साथै काम गर्ने स्टाफहरु कोरोना संक्रमण पुष्टी भएपछि क्वारेन्टीनमा बस्न थाले, त्यतीबेलादेखि नै उनले आफूलाई मनोवैज्ञानिक रुपमा तयार पारेकी थिइन् ।

आफ्नो परिवारमा कोरोनाको संक्रमण भइहालेपनि त्यसकाबिरुद्ध लड्नुपर्छ भन्ने मनोभावका साथ उनी र उनका श्रीमान् अमित शाहले दाल, चामल लगायतका ग्रोसरीहरु किनिसिकेका थिए भने टाइलोनोल लगायतका औषधी र भिटामिनहरु पनि किनेका थिए । त्यस्तै मास्क, पञ्जा लगायतको पनि जोहो गरिसकेका थिए ।

मार्च २६ को राती पनि आशा अस्पतालमा नियमित ड्युटीका लागि गइन् । मार्च २७ पछि उनको लगातार तीनदिन बिदा थियो । त्यसैले बिदामा घरमा आराम गर्ने सोंच बनाएर उनी फर्कदै थिइन् । तर फर्कने बेलामा उनलाई अचानक जिउ दुख्यो ।

उनी भन्छिन् – ‘घर फर्कने क्रममा मलाई एकदमै गाह्रो भयो । मलाई यस्तो जिउ दुख्यो कि अहिलेसम्म यसरी जिउ दुखेको थाहै छैन । घर आइपुग्दासम्म टाउको पनि एकदम दुखेको थियो ।’

सुरुमा त अघिल्लो हप्ता ५ दिन लगातार काम गरेकाले धेरै काम गरेको कारण शरिर दुखेको हुनसक्छ भन्ने लाग्यो उनलाई । घरमा आइसकेपछि नुहाईधुवाई गरिन् । डिटोल, साबुन हालेर कपडाहरु धोएर सुकाइन् । अनि केहीबेर आराम गरिन् ।

आफूले हेरचाह गरेका बिरामीमा कोरोना पोजेटिभ देखिएकाले उनलाई कतै कोरोनाका संक्रमण त भएन भनेर आशंका भने लाग्यो ।
त्यसपछि उनले श्रीमान र बच्चालाई आफू क्वारेन्टीनमा बस्नुपर्ने बताइन् । मुख्य बेडरुममा बाथरुम पनि भएकाले उनले त्यो बेडरुमलाई छानेर क्वारेन्टीनमा बस्न थालिन् । छोरा र श्रीमान्बाट दुरी कायम गरिन् ।

मार्च २७ शुक्रबारदेखि देखिएको लक्षण बढ्न थाल्यो । त्यसपछि उनले ३११ मा फोन गरेर सबै कुरा बताइन् । तर उनीहरुले कडा लक्षण नदेखिंदासम्म टेस्ट नहुने बताए । उनीहरुले स्वासप्रस्वासमा गाह्रो भएमामात्र अस्पतालमा भर्ना गर्ने र टेस्ट गर्ने अन्यथा नगर्ने बताए । उनले टेस्ट गराउन चाहेकाले विभिन्न अस्पतालमा भएका साथीहरुलाई फोन गरिन् । उनीहरुले नजिकको अर्जेन्ट केयरमा जान सुझाव दिए ।

शनिबार उनको शरिर यसरी दुखिरहेको थियो कि बिस्तारामा आफ्नो पोजिसन परिवर्तन गर्नसमेत गाह्रो भइरहेको थियो । उनले टाइलोनोल लगायतका औषधीहरु खाइरहेकी थिइन् । तर पनि खासै सुधार भएको थिएन । त्यसैले उनले मार्च २९ आइतबार नजिकै रहेको सिटीएमडीमा जाने निर्णय गरिन् । आइतबार उनी मास्क, पञ्जाहरु लगाएर अर्जेन्ट केयर सिटीएमडीमा गइन् ।

अरु बेला हिडेर १० मिनेट लाग्ने बाटोमा पनि उनलाई त्यहाँ पुग्न निकै गाह्रो भयो । बाटोमा तीनपटक बस्नुपरेको बताउँछिन् उनी । त्यहाँ पुगेपछि सुरुमा डाक्टरले उनको कोरोना परीक्षण गर्न अस्वीकार गरे । उनी भन्छिन् – ‘पटकपटक अनुरोध गर्दा पनि परीक्षण गर्न अस्वीकार गरे । एकदमै रुखो व्यवहार गरे । मैले निकै अड्डी लिएपछि अन्तत उनीहरुले मेरो नमुना लिए र एकसाताभित्र नतिजा आउने बताए । उनीहरुले एकसाता क्वारेन्टाइनमा बस्न सुझाव दिए ।’

डाक्टरले कफ सिरप लिन, बाफ लिन, नुनपानीले मुख कुल्ला गर्न सुझाव दिएका थिए । त्यसपछि उनी घरमा आएर आराम गरिन् । त्यसैदिनदेखि उनलाई ज्वरो पनि आउन थालेको थियो । तर तापक्रम एकसयभन्दा माथि थिएन । आफूलाई लक्षण देखिएदेखि नै उनी श्रीमान् र ६ बर्षको बच्चाको नजिक गएकी थिइनन् । त्यसैले उनलाई बच्चा र श्रीमानलाई सक्रमण होला भन्ने आशंका थिएन ।

भोलिपल्ट अर्थात् मार्च ३० सोमबार उनका श्रीमान अमित साहले आफूलाई ज्वरो आएको र तापक्रम १०१ पुगेको बताए । त्यसपछि आशा आत्तिइन् । दुबैजना बिरामी भएमा बच्चाको हेरचाह कस्ले गर्ला भनेर उनी अझ बढी आत्तिइन् । श्रीमान् र छोरा लिभिंग रुममा सँगै सुत्दै आएका थिए । श्रीमान्लाई ज्वरो आएपछि औषधी चलाइन् । त्यसपछि छोरा र श्रीमान्लाई पनि अलग अलग राखियो ।

त्यसैदिन उनलाई न्युजर्सीको एउटा नम्बरबाट फोन आयो । उनले सुरुमा फोन उठाइनन् । तर भ्वाइसमेलमा कोरोनाको परीक्षणको नतिजा आएको सन्देश थियो । त्यसपछि उनले कलब्याक गरिन् । झण्डै डेढघण्टा होल्डमा राखेपछि उनलाई कोरोना पोजेटिभ भएको जानकारी दिइयो ।

उनी भन्छिन् – ‘श्रीमानमा पनि लक्षण देखिन थालेकाले म निकै अलमलमा परें । म एक्स्पोज भएको मलाई पोजेटिभ हुनसक्छ भन्ने पहिले नै अनुमान थियो । म कोरोनासँग लड्न सक्छु भन्ने आत्मविश्वास मभित्र पहिलेदेखि नै थियो । तर सबै बिरामी भएमा कसले हेरचाह गर्ने भनेर म अलिक अन्यौलमा परें ।’

सुरुमा आफूलाई कोरोना पोजेटिभ भएको कुरा आशाले श्रीमानलाई भनिनन् । तर मनले मानेन । बेलुका आफू बस्दै आएको कोठाबाट अर्को कोठामा श्रीमानलाई फोन गरेर उनले कोरोना पोजेटिभ देखिएको बताइन् । सुरुमा अमितले पत्याएनन् । तर आशाले अर्जेन्ट केयरबाट इमेलमा आएको रिपोर्ट पठाइदिइन् । वास्तविकता स्वीकार नगरी सुखै थिएन ।

रिपोर्ट हेरेपछि अमित आत्तिए । तर आशाले नआत्तिन भनेर सम्झाई बुझाई गरिन् । कोरोनाबिरुद्ध लड्नुपर्ने र बच्चाका लागि भएपनि आफूहरु बाँच्नुपर्ने बताइन् । एउटै अपार्टमेन्टमा एउटा कोठाबाट अर्को कोठामा श्रीमान श्रीमतीबीच निकैबेर फोनमा कुरा भयो, दुबैजना भावुक भए । आशाले आफ्नो आँशु पनि थाम्न सकिनन् ।

आफूलाई कोरोना संक्रमण पुष्टी भएपनि उनका श्रीमान अमितलाई पुष्टी भने भइसकेको थिएन । त्यसैले उनले आइसोलेसन अझै कडा बनाइन् । आफू बाहिर निस्कदै ननिस्कने निधो गरिन् । अमितलाई सबै म्यानेज गर्न र टाइममा खाना खान भनिन् । उनले बेलाबेलामा अर्को रुममा फोन गरेर अमित र बच्चाको हालखबर भने सोधिरहन्थिन् ।

अमितको विगतमा स्वासप्रश्वाससम्बन्धि स्वास्थ्य समस्या भएकाले पनि आशालाई अलिक बढी डर लागेको थियो । धेरै गाह्रो भयो भने के गर्ने होला भनेर मनमा कुरा खेलिरहेको थियो । अमितको ज्वरो कम भएको थिएन । १०३ डिग्रीसम्म ज्वरो आइरहेको थियो । औषधी खाएपछि पसिना आएर ज्वरो कम हुन्थ्यो । तर एकैछिनमा ज्वरो आउँथ्यो ।

अमितलाई खोकी पनि लाग्न थालिसकेको थियो । निकै कमजोर भइसकेका थिए । पाँचौदिनसम्म पनि अवस्थामा सुधार नआएपछि आशाले अमितलाई नजिकैको अर्जेन्ट केयरमा जान भनिन् । अमित अर्जेन्ट केयरमा त गए तर त्यहाँ उनको कोरोना टेस्ट गरिएन । टाइनोलोल, एजिथ्रोमाइसिन लगायतका औषधी दिएर पठाइयो । अमितको छातीको एक्सरेपनि गरिएन ।

घरमा आएपछि उनी झन् बिरामी भए । उनलाई हिड्न उभिन समेत गाह्रो भएको थियो । आफू भन्दा पनि बिरामी उनका श्रीमान अमित भएपछि उनले आइसोलेसनबाट निस्केर श्रीमानको हेरचाह गर्न थालिन् । बेलाबेलामा तातोपानी तताएर दिने र औषधी दिने गरिरहिन् । खाना बनाएर खान दिन थालिन् ।

लक्षण देखिएको चारपाँच दिनमा आशाको स्वाद र सुघ्ने क्षमता नष्ट भइसकेको थियो । एकदिन उनलाई पानीको स्वाद तितो लाग्यो, त्यसको भोलिपल्टदेखि उनको पूरै स्वाद लिने क्षमता गयो । लक्षण देखिएको एकसाताको अवधिमा आशालाई पखाला लाग्ने, बान्ता हुने लगायतका लक्षणहरु देखिसकेका थिए । उनीपनि निकै कमजोर भएकी थिइन् । तर अमित झन् सिकिस्त भएकाले उनले आफू कमजोर भएको पनि लुकाउने प्रयास गर्थिन् ।

एकदिन बेडबाट उठ्न खोज्दा आशा भूईमा लडिन् । घुँडामा चोट लागेर रगत बग्यो । तर पनि उठेर चोट लागेको ठाउँमा ब्याण्डेड लगाइन् । अनि फेरी मास्क र पन्जा लगाएर किचनमा गएर श्रीमान र छोराका लागि जाउलो पकाइन् ।

आशा र अमित दुबैजना बिरामी भएपछि बच्चाले आफै विहानै उठेर ब्रस गर्ने र भोकै भएपनि पढ्न बस्ने गथ्र्यो । उनीहरुले बच्चालाई पनि आफूहरुको अवस्थाबारे सम्झाएका थिए । आफूहरुलाई छुन नहुने सम्झाएका थिए भने कम्तीमा २० सेकेण्ड साबुन पानीले राम्रोसँग हात धुन सिकाएका थिए ।

श्रीमान् बिरामी भएपछि आशाले आफ्नो मन अझ दह्रो बनाएकी थिइन् । अमितको स्वास्थ्यअवस्था खराब भएकाले उनका अगाडि अरु विकल्प पनि थिएन । उनलाई पनि गाह्रो भइरहेको थियो । तर परिवारलाई जोगाउन आफू जसरीपनि उठ्नुपर्छ भन्ने उनलाई लाग्यो । त्यसैले आफ्नो स्वास्थ्यको ख्याल गर्दै उनी श्रीमानको हेरचाहमा लागिन् ।

अप्रिल ४ शनिबार विहान उठ्दा बाहिरको कोठाबाट केही पनि आवाज आएन । छोरा विहानै उठेर यताउता गर्ने भएकाले आवाज आउँथ्यो । तर त्यो दिन केही आवाज आएन । त्यसपछि आशा डराइन् । उनी बाहिर निस्केर अमित सुतिरहेको स्थानमा गइन् । अमित विस्तारमा नचलेर सुतिरहेका थिए । बच्चा पनि आफ्नो बिस्तारमा गुटुमुटु भएर सुतिरहेको थियो ।

आशाले अमितलाई ‘कस्तो छ’ भनेर सोधिन् । अमित केही बोलेनन् । त्यसपछि उनले हातले हल्लाइन् । उनी अर्धमुर्छित जस्तो थिए । हातले हल्लाएपछि उनले आफूलाई एकदमै गाह्रो भएको बताए । ज्वरो नाप्दा झण्डै १०३ थियो ।

त्यसपछि आशा छोरा सुतेको बिस्तारामा गइन् । बच्चाले पनि शरिर, कपाल , आँखा, कान, पेट सबै दुखेको बतायो । उसले ‘आफू उठ्न पनि नसक्ने’ बतायो । बच्चाले ‘आफू राती सुत्न नसकेको तर बुबाआमा दुबै बिरामी भएकाले आफूले केही नभनेको’ बताउँदा आशाका गहभरी आँशु भए । ६ बर्षको बच्चाको यस्तो कुरा सुन्दा उनी निकै भावुक भइन् ।

आशाले छोराको ज्वरो नापिन् । झण्डै १ सय डिग्री थियो । त्यसपछि बच्चालाई उनले टाइलोनोलको झोल औषधी दिइन् । एकातिर आफै बिरामी, अर्कोतर्फ श्रीमान र छोरा बिस्तारामा लडिरहेका थिए । उनी भन्छिन् – ‘दुबैजना बिरामी भएपछि कसरी टेककेयर गर्ने होला भन्ने चिन्ता लाग्यो । तर मलाई आफू जसरी पनि ठीक हुनुपर्छ । यिनीहरुलाई हेरचाह गर्ने म नै हो भन्ने लाग्यो । तीनजनामा तीनैजना बिरामी भएपछि म अलिक बढी आत्तिएँ ।’

उनले साथीहरुसँग सल्लाह लिदैं श्रीमान र छोराको अवस्था मनिटर गरिहिन् । छोराको अवस्था तीनदिनपछि सुधार भयो । तर अमितलाई भने १२ दिनसम्म लगातार ज्वरो आयो । अमितलाई अप्रिल १० सम्मनै ज्वरो आएको थियो । त्यसपछि ज्वरो कम भयो । तर खोकी अचानक बढ्यो ।

अमितको खोकी बढेपछि आशाले उनलाई अर्को डाक्टरकोमा जान भनिन् । अमितको एकजना साथी क्लीनिकमा काम गर्ने भएकाले उनले कोभिड टेस्ट गराइदिने बताएका थिए । त्यसपछि अमित त्यही गएर अप्रिल १० मा कोभिड टेस्ट गराए भने छातीको एक्सरे पनि गराए ।

त्यतीबेलासम्म उनको एन्टीबायोटिकको डोज पनि पूरा भएको थियो भने ज्वरो पनि बन्द भएको थियो । एक्सरे गर्दा फोक्सोमा प्रारम्भिक चरणको निमोनिया देखियो । त्यसको दुईदिनपछि कोरोना पोजेटिभ भएको नतिजा आयो ।

अमित र आशाका लागि अप्रिलको पहिलो साता निकै भयानक थियो । तर दोश्रोसातापछि भने दुबैजना रिकभरतिर गए । छोरालाई त तीनचारदिनमा नै निको भइसकेको थियो । अमितले अहिले लामो स्वासप्रश्वास अभ्यास गरिरहेका छन् भने तरल पदार्थहरु प्रसस्त लिइरहेका छन् ।

आशा भन्छिन् – ‘हामीले नियमित औषधीका साथमा लामो स्वासफेर्ने अभ्यास गर्यौं । कागती र मह हालेर अदुवा पानी पियौं । उहाँ भेजिटेरियन भएकाले प्रसस्त गेडागुडी पकाएर खुवाएँ । उहाँलाई बान्ता, पखाला र पसिना आएकाले मैले झोल पदार्थमा बढी जोड दियौं । अन्तत कोरोनालाई पराजित गरेरै छाड्यौं ।’

अमितलाई अहिले ९५ प्रतिशत रिकभर भइसकेको छ । आशाको स्वाद लिने र सुघ्ने शक्ति अझै फर्केको छैन । तर अरु कुनै पनि लक्षणहरु छैनन् । ज्वरो पनि आएको छैन । दुबैले नयाँ जीवन पाएको अनुभव गरिरहेका छन् । अमित सोमबारसम्म क्वारेन्टाइनमा बस्ने योजना बनाएका छन् ।

कोरोना संक्रमणबाट स्वासप्रश्वासमा गाह्रो नभएसम्म घरमै बसेर उपचार गर्नुपर्ने सुझाव दिन्छिन् आशा । उनी भन्छिन् -‘कोभिड पोजेटिभ हुँदैमा नआत्तिनुहोला । हामी रिकभर भयौं । तपाई पनि संक्रमित हुनुहुन्छ भने रिकभर हुनुहुनेछ । तर लापरवाही नगर्नुहोला । आत्मविश्वास कायम गर्नुहोला । स्वासप्रश्वासमा समस्या भएमा भने अस्पताल गइहाल्नुपर्छ । ढिलो गर्नुहुँदैन ।’

Related Articles

Back to top button
Close