News

भोको पेट देख्न नचाहने युवाहरु, जसले दैनिक १ हजार जनालाई करिव २० दिन अगाडी देखि खाना खुवाउँदै छन् !

काठमाडौँको गोकर्णेश्वर नगरपालिकाको जोरपाटीस्थित चामुण्डा माध्यमिक विद्यालयको यो समयमा शिक्षकले विद्यार्थीलाई तहअनुसारको शिक्षा दिइरहेका हुन्थे । बिहान–बेलुका हुने बालबालिकाको आवतजावतले वरिपरिको माहोल नै स्कूलमय हुन्थ्यो ।

कोभिड–१९ का कारण एक महिना अघिदेखिको लकडाउनले यतिखेर स्कूल प्राङ्गणको दृष्य फरक छ । यहाँ एकाबिहानै एकहुल युवा आइपुग्छन् । कोही तरकारी काट्न, कोही भात पकाउन त कोही पानी र थाल कचौराको व्यवस्थापनमा जुट्छन् । यो क्रम बिहान ११ः०० बजेसम्म नै चल्छ । अपराह्न ३ः०० बज्न नपाउँदै त्यही युवा जमात फेरि जुट्छन् र नियमित क्रियाकलाप थाल्छन् ।

स्कूल आउने व्यक्ति न त कसैको हातमा कापी कलम हुन्छ न पिठ्यौँमा झोला । हुन्छन् त केवल पोकापन्तुरा बोकोका वयस्क मानिस । अनि उनीहरुसँग केही लालाबाला हुन्छन् । केही युवा त केही वृद्धवृद्धासमेत हुन्छन् । त्यही पनि एक दुई सय होइन झण्डै एक हजार जना । उनीहरु विहान ९ः०० देखि ११ः०० बजे आइपुग्छन्, खाना खान्छन्, फेरि साँझ ५ः०० देखि ७ः०० बजेसम्ममा आउँछन् खाना खान्छन् अनि आआफ्नो गन्तव्यमा जान्छन् ।

लकडाउनका कारण कुनै पेशा अपनाउन नसकेपछि भोकभोकै सडकमा पुगेका ति मानिसलाई त्यसरी खाना खुवाउन यहाँका ५० युवाहरु सक्रिय छन् । उनीहरु छरछिमेकमा कोही पनि भोको परेको देख्न चाहँदैनन् । सबैले खाना खान पाउन् भनेर मेस चलाएका हुन् ।

“यहाँ विहान ६ः०० बजेदेखि नै खाना बनाउन हामी जम्मा हुन्छौँ, राती ८ः०० बजेसम्मै व्यस्त हुनुपर्छ, हामी ५० जना युवा नियमित खटिन्छौँ”, आयोजक नारायणटार युवा क्वलका अध्यक्ष धर्म थिङ लामाले भन्नुभयो । नगरपालिकाको वडा नम्बर ६ सँगको समन्वयमा एक हप्तादेखि युवा समुह खाना खुवाउन सक्रिय भएको उहाँले बताउनुभयो ।

शुरुमा स्थानीय तहबाट राहत बाँडिएको थियो । त्यो राहत वास्तविक मजदूर र सडकमा पुगेकाले नपाएपछि युवालाई खिन्न लाग्यो । त्यसपछि उनीहरुले तत्कालै खाना खुवाउने निर्णय गरेका हुन् । यहाँ निःशुल्क खाना खानेमा उदयपुरका कुलबहादुर मगर पनि हुनुहुन्छ । काठमाडौँको जोरपाटीस्थित नारायणटारमा अस्थायीरुपमा बस्ने मगरको पेशा रङ्रोगन लगाउने हो । लकडाउन यति लामो होला भन्ने उहाँलाई लागेकै थिएन । लकडाउन भनेको के हो भन्नेसम्म थाहा थिएन । अघिपछिको बन्दजस्तै त होला भन्ने लागेर खासै मतलव गर्नु भएन । उहाँले केही दिन कमाएको पैसाले जेनतेन चलाउनुभयो । विस्तारै थाहा हुँदै गयो लकडाउन भनेको मान्छे हिँडडुल गर्न पनि नपाउने रहेछ ।

अघिपछिको बन्दमा उहाँलाई कामको कमी थिएन । यसपालि वेकामे बनेपछि सडकमा आउनुप¥यो । पेट भर्ने अन्न कै समस्या भएर सडकमा भौतारिँदै गर्दा युवा क्लबको मेसमा खाना पाएपछि एक हप्तादेखि बिहान बेलुका के खाने भन्ने चिन्ता छैन । उहाँले भन्नुभयो, “रोगभन्दा पनि भोकको चिन्ता थियो, अब त बाँचिने भयो, खुशी छु ।”

भारत मोतीहारीका २१ वर्षीय विकास यादवको पीडा पनि उस्तै छ । जोरीपाटीस्थित एक चिया पसलमा काम गर्ने उहाँ लकडाउन कै कारण घरको न घाटको हुनुभयो । साहुले पसल बन्द गरेपछि दुईचार दिन सडक मै बास भयो । केही दिन खाना माग्दै खाँदैमा बित्यो । उक्त मेस देखेपछि उहाँ पनि खुसी हुनुहुन्छ ।

तनहुँकी एक महिलालाई तीन वर्षदेखि काठमाडौँ बस्दा यस्तो कुनै समस्या परेको थिएन । लकडाउनका कारण कमाई नहुँदा डेरा भाडा तिर्न सक्नुभएन । डेरा छाड्न बाध्य उहाँ गाउँ कै आफन्तकोमा बस्नुहुन्छ । आफन्तले बाहिरै खानु, सुत्न मात्रै आउनु भनेपछि क्लबले खुवाउने गरेको खानाले ज्यान बचेको उहाँले बताउनुभयो ।

शुरुमा ५०÷६० जनालाई खाना खुवाए पुग्छ भन्ने युवा क्लबलाई लागेको थियो । बैठकमा त्यही निर्णय गरेर काम थालिएका थियो । तर मानिसको भीड अप्रत्यासित बढ्दा दैनिक झण्डै एक हजारलाई खाना खुवाउनु परेको छ तर पनि युवाले हरेस खाएका छैनन् । मानिस थोरै हुँदा क्लबले नै व्यवस्थापन गर्ने भनिए पनि मान्छे धेरै भएपछि वडा कार्यालय, स्थानीय संस्था र व्यवसायीसँग सहकार्य गरिएको छ ।

युवाले स्वास्थ्य मापदण्डलाई ध्यानमा राखेर खाना वितरण गर्ने गरका छन् । सरसफाइमा पनि उत्तिकै ध्यान दिइएको क्लबका सल्लाहकार तथा नयाँ जीवन नेपालका अध्यक्ष राजन खनालले बताउनुभयो । खनाल भन्नुहुन्छ, “एक मिटर दूरी कायम गरेर राखिन्छ, आएकालाई स्यानिटाइजरको व्यवस्था छ, थर्मल गनबाट तापक्रम नापिने गरिएको छ, साबुन पानीले हात धुने व्यवस्था छ, खाना खाएपछि थाल कचौरालाई व्यवस्थितरुपमा सफा गर्ने गरिएको छ ।”

अहिले मुलुकभर नै यसरी खाना व्यवस्थापनमा युवा नै सक्रिय देखिएका छन् । कतिपय स्थानमा स्थानीय तहले खानाको जोहो गरेको छ भने धेरैजसो स्थानमा विभिन्न संस्थाका युवा क्रियाशील छन् । त्यस कारण पनि मजदूरको पेट अघाएको छ ।

Related Articles

Back to top button
Close