News

पूर्व प्रधानाध्यापक हंसराज लिङ्देनको कोरोना भाइरसका कारण निधन

लन्डन । बेलायतमा कोरोना संक्रमणबाट एक जना पूर्व प्रधानाध्यापकको निधन भएको छ । झापा घरभई अहिले बेलायतको रेडिङमा बस्दै आएका पूर्व प्रधानाध्यापक हंसराज लिङ्देनको बुधबार रोयल बर्कसायर अस्पतालमा निधन भएको हो । बेलायत बाट संचालित अनलाइन विइ नेपालीले समाचार लेख्दै अगाडी भनेको छ उनी तीन साताअघि अस्पताल भर्ना भएका थिए । दुई पटक परीक्षण गर्दा पनि उनमा कोरोना पोजिटिभ देखिएको थिएन तर तेस्रोपटक चेक जाँच गर्दा कोरोना पोजेटिभ पुष्टी भएको उनका नातेदार विजयविक्रम लिङ्देनले जानकारी दिए । उनलाई तीन दिन अघि मात्र कोरोना पोजिटिभ पुष्टी भएको थियो ।

लिङ्देन सुगर र प्रेसरका विरामी थिए । उनलाई श्वास फेर्न गाह्रो भएपछि अस्पताल लगिएको थियो । श्रीमती र दुई छोरीका साथ १४ वर्षदेखि रेडिडमा बस्दै आएका लिङ्देन झापा खुदुनाबारीको जनता माध्यामिक विद्यालयका पूर्व प्रधानाध्यापक थिए । करिब ६५ वर्षीय लिङ्देनका दुई छोराहरु भने बेलायत बाहिर छन् ।

त्यस्तै कोरोना संक्रमणबाट बेलायतमा ३२ वर्षीया नेपाली मूलकी युवतीको निधन भएको छ । निधन हुनेमा खोटाङ ऐसेलुखर्क गाउँपालिका १ पुर्ख्यौली घर भई हाल बेलायतकाे ननिटनमा बसोबासरत सुश्री बीमा नाछिरिङ राई छिन् । उनको म‌ंगलबार जर्ज इलिट अस्पतालमा निधन भएको स्थानीय ब्रिट्रिश गोरखा भेट्रान्स एसोसिएसन युकेका महासचिव भीम सारु मगरले जानकारी दिए । उनी पूर्व गोरखा सैनिक डाकबहादुर राई र श्रीमती देशी राईकी माइली छोरी थिइन् । उनी गत वर्ष मात्र युके आएकी थिइन् । मिर्गौलाकी बिरामी राईलाई कोरोना संक्रमण भएपछि एक साता अघि सो अस्पताल भर्ना गरिएको थियो ।

उनको परिवारमा बाबा, आमा र एक बहिनी मात्र छन् । उनी अहिलेसम्ममा युकेमा कोरोनाका कारण ज्यान गुमाउने नेपालीहरुमा सबैभन्दा कम उमेरका नेपाली हुन् । राईको निधनप्रति ब्रिटिश गोरखा भेट्रान्स एसोसिएसन युकेले श्रद्धान्जलि व्यक्त गरेको छ । एसोसिएसनले शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेको छ । यसैगरी, किराँत राई यायोख्या ननिटन प्रारम्भिक समितिले राईको निधनप्रति श्रद्धान्जलि प्रकट गरेको छ । यस दुखद घडीमा परिवारजनमा सहने शक्ति मिलोस् भनी यायोख्याले प्रार्थना गरेको छ ।

Related Articles

Back to top button