Tuesday, May 17

बालेनको र्‍यापले महिला हिंसा गरेको छ

May 3, 2022 165

काठमाडौँ। महिलामाथि यौन दुर्व्यवहार गरेको आरोप लागेका काठमाडौं महानगरपालिकाका मेयरका उम्मेदवार केशव स्थापितले अर्का उम्मेदवार बालेन शाहमाथि र्‍याप संगीतको विषयमा आरोप लगाएका छन्।

एमालेबाट मेयरका उम्मेदवार रहेका स्थापितले आफ्ना प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार बालेन शाहमाथि महिला हिंसाको आरोप लगाएका हुन्।

उनका अनुसार बालेन शाहको गीतले महिलामाथि हिंसा गरेको छ। त्यति मात्र नभएर उनले आफ्नो खास परिचय लुकाएको आरोप पनि लगाएका छन्।

मंगलबार काठमाडौँमा मतदातासँग अन्तरक्रिया गर्दै स्थापितले भनेका छन्, ‘र्‍याप भन्दैमा मनपरी गर्न पाइन्छ? बालेनको र्‍यापमा महिलामाथि के के बोलेका छन् हेर्नुस् त, महिलामाथि हिंसा भएको छ।’

स्थापितका अनुसार बालेन काठमाडौंका शाह होइनन् उनी मधेशका शाह हुन्। यसअघि उनले बालेनलाई फुच्चेसमेत भनेर होच्याएका थिए।

चार वर्षअघि काठमाडौं महानगरकै पूर्वकर्मचारी रश्मिला प्रजापति र पत्रकार उज्जला महर्जनले आफूहरूमाथि स्थापितले यौन दुर्व्यवहार गरेर हैरान पारेको आरोप लगाएका थिए।

हालै एक कार्यक्रममा यौन हिंसाको विषयमा स्थापितलाई एक महिलाले प्रश्न गर्दा उनी निकै रुष्ट शैलीमा प्रस्तुत पनि भएका थिए।

Comment