Tuesday, May 17

गाडीको ठक्करबाट प्रहरी वरिष्ठ हवल्दारको मृत्यु, ड्युटी सकाएर पैदल जाँदै थिए

May 3, 2022 238

ढल्केवर(धनुषा) :

धनुषामा गाडीको ठक्करबाट एक प्रहरीका वरिष्ठ हवल्दारको मृत्यु भएको छ। गए राति गाडीको ठक्करबाट ईलाका प्रहरी कार्यालय ढल्केवरमा कार्यरत प्रहरी वरिष्ठ हवल्दार भोजराज पराजुलीको मृत्यु भएको प्रहरीले जनाएको छ।

पूर्वपश्चिम लोकमार्ग अन्तर्गत धनुषाको ढल्केवरचोकमा ड्युटी सकाएर कार्यालयतर्फ पैदल आउँदै गरेका वरिष्ठ हवल्दार पराजुलीलाई ईलाका प्रहरी कार्यालयकै अगाडी नम्बर नखुलेको गाडीले ठक्कर दिएको थियो। उनको घटनास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक रामसागर सिंहले जानकारी दिए।

सोमबार ढल्केवर चोकमा चेक प्वाइन्टबाट ड्युटी सकाएर ईलाका प्रहरी कार्यालयतर्फ पैदल जाँदै गरेका उनलाई पहिचान नखुलेको गाडीले ठक्कर दिएको थियो। ठक्कर दिने गाडीको खोजी भइरहेको प्रहरी निरीक्षक सिंहले जनाए।

‘ठक्कर दिने गाडीको पहिचान गर्न हामी लागिपरेका छौं। अनुसन्धान भइरहेको छ। सिसी क्यामेरामा ठुलो गाडी देखिएको छ। ट्रक वा मालबाहक ट्यांकर हुन सक्ने हामीले अनुमान गरेका छौं,’ अनुसन्धानमा खटिएका एक प्रहरी अधिकारीले भने।

ओखलढुंगाको चिंशखुगढी गाउँपालिका–५ स्थायी घर भएका वरिष्ठ हवल्दार पराजुली तीन महिनाअघि ईलाका प्रहरी कार्यालय ढल्केवरमा सरुवा भएर आएका थिए। मृतकको शव पोस्मार्टमका लागि जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा राखिएको ईलाका प्रहरी कार्यालय ढल्केवरले नाएको छ।

Comment