News

लकडाउन वैशाख २२ गतेसम्म लम्ब्याउने सरकारको तयारी, प्रधानमन्त्री भन्छन्- जीवन रहे अर्थतन्त्र उकासौँला

कोरोना भाइरस संक्रमितको संख्या धमाधम बढ्न थालेपछि सरकारले लकडाउन थप गर्ने तयारी गरेको छ ।

कम्तिमा थप एक हप्ता लकडाउन लम्ब्याउने तयारी भइराखेको एक मन्त्रीले जानकारी दिएका छन् ।

उनका अनुसार लकडाउन लम्ब्याउने विषयमा बिहीबारको मन्त्रिपरिषद् बैठकमा छलफल भएको थियो । त्यसमा प्रधानमन्त्रीदेखि अधिकांश मन्त्री सहमत देखिएका छन् । प्रधानमन्त्रीले त लकडाउन लम्ब्याउनैपर्नेमा जोड दिएका थिए ।

खुल्ला सीमा भएको छिमेकी मुलुक भारतमा झनै तिव्र गतिमा संक्रमित भेटिएका कारण नेपालमा त्यसको प्रभाव पर्नसक्ने भन्दै लकडाउन थप्नुपर्नेमा स्वास्थ्य विज्ञहरुले जोड दिँदै आएका छन् ।

लकडाउन खोले कोरोनाले भयावह रुप लिनसक्ने आकलनसहित सरकार लकडाउन लम्ब्याउने पक्षमा देखिएको छ ।

सरकारका प्रवक्तासमेत रहेका सञ्चार र अर्थमन्त्री युवराज खतिवडाले सरकारले छिमेकी मुलुकमा कोभिड–१९ को रोकथामका प्रयासको सफलता र त्यसविरुद्ध मुलुकले चालेको कदमको प्रभावकारिता हेरेर मात्रै लकडाउन लम्ब्याउने या खोल्ने निर्णय गर्ने बताएका छन् ।

बिहीबार मन्त्रिपरिषद्को बैठकको निर्णय सार्वजनिक गर्दै उनले वर्तमान परिस्थितिमा लकडाउन बढ्ने सङ्केत गर्दै त्यसका लागि मुलुकको वर्तमान अवस्था विश्लेषण गर्नुपर्ने आवश्यकता औँल्याएका थिए ।

उनले भने, “लकडाउन खोल्ने हो भने मुलुकको स्वास्थ्य परीक्षणको विधि, उपकरण र स्वास्थ्यकर्मी ठिक ठाउँमा छन् की छैनन्, सङ्क्रमणको दर बढ्ने अवस्था भयो भने हाम्रो सम्पूर्ण पूर्वाधार पर्याप्त छ की छैन हेर्नुपर्छ,” मन्त्री खतिवडाले थपे, “नागरिकमा पर्याप्त चेतना, सामाजिक दूरी र अनुशासन छ की छैन, यी यावतु कुरा हेरेर जोखिममुक्त छौँ भनेपछि मात्रै खोल्ने हो ।”

प्रधानमन्त्री केपी शर्मा ओलीको भनाइ उद्धृत गर्दै मन्त्री खतिवडाले भने, “जीवन रक्षा नै पहिलो कुरा हो, अर्थतन्त्रमा पर्ने क्षति र अन्य क्षति त हामी पछि पनि उकास्न सक्छौँ । जीवन रक्षाका लागि लकडाउनको अवधीलाई अगाडि बढाउनुपर्ने आवश्यकता रहे बढाउनुपर्छ ।”

उनले लकडाउन लम्बिँदै गर्दा जीवनलाई चाहिने न्यूनतम आपूर्तिजन्य कुरालाई परिपूर्ति गर्न केही सहजता अपनाउनुपर्ने आवश्यकता रहेकाले त्यसतर्फ सरकार अघि बढेको बताए ।

चैत ११ गते सुरु भएको लकडाउन पटक पटक गरी वैशाख १५ सम्म लम्ब्याइएको छ।

Related Articles

Back to top button
Close