Saturday, May 21

Breaking : भैरहवा एअरपोर्टमा ठूलो जहाज झार्दा यस्तो भयो

May 2, 2022 453

निकै ठूलो तयारी र प्रचारवाजीसहित आज भैरहवास्थित नवनिर्मित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल वायुसेवा निगमको वाइडबडी जहाजले अवतरण र उडान गरेको छ । तर पहिलो गाँसमै ढुंगा भनेझैँ उक्त जहाजले गलत दिशाबाट अवतरण गर्दा ठूलै समस्या आएको हो ।

पर्यटनमन्त्रीको नेतृत्वमा दुई सय ६७ जना यात्रु बोकेर काठमाडौंबाट उडेको उक्त विमान गोधुली साँझमा भैरहवा पुगेको हो । आकाशमा रहेको विमान र एअर ट्राफिक कन्ट्रोलबीच भएको मिसकम्युनिकेशनका कारण विमानले गलत दिशाबाट अवतरण गरेको बताइएको छ । कतिपयले टावरमा समस्या भएको उल्लेख गरेका छन् ।

निगमको वाइड बडी जहाजले गलत दिशाबाट ल्याण्ड गर्दा ठूलो विमान घुम्न नसकेर एक घण्टासम्म यात्रुहरु जहाजभित्रै थुनिएका थिए । कर्मचारीतन्त्र र नेभिगेशन अर्थात आकाशमा रहेको विमान र टावरको एटीसी अफिसरबीच सम्पर्कमा भएको गलत संवादका कारण त्यस्तो भएको पाइलटहरुको भनाइ छ । टावरले काम गरेन भन्ने कुरोको प्रसंगमा स्रोतले क्यालिब्रेशन फ्लाइट सफल भएको भन्दै पन्छिएको छ ।

आज २ सय ६७ जना यात्रु बोकेर काठमाडौंबाट गएको टोलीमा ५१ जना पत्रकार थिए । टावरवालाले प्राविधिक गल्ती भने पनि साँझ भैरहवा विमानस्थल वरिपरि तनावपूर्ण अवस्था उत्पन्न भएको थियो । निर्वाचन आचारसंहिताको कारण पर्यटनमन्त्री चुपचाप बसेको बताइन्छ । दिउँसो ३ बजे हुने भनिएको परीक्षण उडान साँझ साढे ६ बजेमात्र सम्भव भएको थियो । आजको परीक्षण उडानमा भएको कमिकमजोरीका कारण काठमाडौं भैरहवाको रुट यतिबेलासम्म पनि गडबड छ । काठमाडौंबाट भैरहवा जाने साँझ ६ बजेदेखिका उडान रोकिएका छन् ।

नेपाल वायुसेवाका वाइडबडी विमान गलत दिशाबाट अवतरण गरेका कारण एम्बुलेन्स दौडादौड गरेको थियो । पर्यटन व्यवसायी, व्यापारीलगायत रहेको टोलीमा मन्त्री विमानबाट अन्तिममा झरेका हुन् ।आज साँझको घटनापछि नागरिक उड्डयन मन्त्रालयका पदाधिकारीहरु पनि कालोनीलो भएका छन् । अवतरण गरेको जहाज तान्नुपर्ने अवस्थामा पुगेपछि उनीहरु कालोनीलो भएका हुन् ।

Comment