Wednesday, May 18

महिनावारी भएका बेला महिलालाई बिदामा बस्ने नीति ल्याउँछौँ : सुनिता डंगोल

May 2, 2022 1026

काठमाडौं : काठमाडौं महानगरपालिकामा नेकपा एमालेका तर्फबाट उपमेयरकी उम्मेदवार सुनिता डंगोलले महिनावारीको बेला महिलाहरुलाई गाह्रो हुने भएकाले उनीहरुलाई विदामा बस्न मिल्ने नीति तथा कार्यक्रम ल्याउने योजना रहेको बताइन्।

आईतबार अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसर पारेर काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले कार्यस्थलमा महिलालाई सुरक्षित ढंगले काम गर्ने वातावरण मिलाउने प्रतिवद्धता समेत व्यक्त गरिन्।

उनले भनिन्, ‘कार्यस्थलमा महिलाहरुलाई सुरक्षित हुने खालको हामी प्रबन्ध गर्नेछौँ। महिनावारीको समयमा धेरै जना महिलाहरुलाई कार्यालय जान गाह्रो हुन्छ। त्यो गाह्रो महिला बाहेक पुरुषहरुले कमै मात्र बुझ्नुहुन्छ होला। विशेषगरी महिनावारीको समयमा हामीले विदाका लागि कसरी प्रबन्ध गर्न सक्छौँ, त्यसका लागि नीति र कार्यक्रमहरु ल्याउनेछौँ।’

कार्यक्रममा बोल्दै मेयरका उम्मेदवार केशव स्थापितले आफू मेयर भएको भोलिपल्टबाटै नागरिकको पीडालाई सुनेर तत्काल सम्बोधन हुनेगरी काममा लाग्ने बताए।

उम्मेदवार स्थापितले निर्वाचन पश्चात देशका विभिन्न ठाउँबाट आएका मानिसहरुलाई काठमाडौंमा संरक्षण गर्न अगुवाई गर्ने र आफू रमाइलोमा भन्दापनि महानगरवासीको सेवामा लागि पर्ने जानकारी दिए।

Comment