News

कोरोनाभाइरस भ्याक्सिनः चिनियाँ सेनाको परीक्षण सफल हुँदा विश्व किन चिन्तित छ ?

काठमाडौं। कोरोनाभाइरसको भ्याक्सिन बनाउनका लागि विश्वभरका विशेषज्ञहरु प्रयासरत छन् । यो काममा चीन सबैभन्दा अगाडि छ । उसले गएको मार्च १७ मै पहिलो चरणको परीक्षण सफलतापूर्वक पूरा गरिसकेको छ र अहिले दोस्रो चरणमा छ । चीन एकमात्र देश हो जहाँ भ्याक्सिनको ट्रायल दोस्रो चरणमा पुगिसकेको छ । यहाँको भ्याक्सिन परियोजना चिनियाँ सेनाको हातमा छ ।

चिनियाँ फार्मा कम्पनी क्यान्सिनो बायोलोजिक्सले एक शैक्षणिक संस्थासँग मिलेर यो भ्याक्सिनको क्लिनिकल ट्रायलको घोषणा गरेको थियो । तर, पछि यो पूरै परियोजनामा चिनियाँ सेनाको सैन्य चिकित्सा विज्ञान एकेडीमी संलग्न रहेको खुलासा भयो । अर्थात जुन भ्याक्सिन परियोजनामा चीनले काम गरिरहेको छ त्यो पूरै चिनियाँ सेनाको हातमा छ । यो खुलासासँगै यो परियोजनामाथि प्रश्न पनि उठिरहेका छन् ।

चिनियाँ समाचार एजेन्सी सिन्ह्वाका अनुसार चिनियाँ सेनाकी मेजर जनरल डा. चेन वाइको टिम यो परियोजनामा संलग्न छ । डा. चेन वाइ सेनाकी मेजर जनरल हुनुका साथै विश्वकै शीर्ष भाइरोलोनिस्ट मध्येकी एक हुन् । भ्याक्सिनको ह्युमन ट्रायलको पहिलो चरण मार्च १७ मै सफलतापूर्वक सम्पन्न भइरहेको छ र अहिले दोस्रो चरणमा छ । दोस्रो चरणमा कोरोनाभाइरस संक्रमितहरुमा यसको परीक्षण भइरहेको छ । यसको पनि निकै सकारात्मक नतिजा आइरहेका छन् । तर, यो सफलताका बावजुद विश्वले यो परियोजनालाई लिएर चिन्ता व्यक्त गरेको छ ।

विशेषज्ञहरुले यो परियोजनामा चिनियाँ सेना संलग्न भएका कारण यो प्रयोग सफल भएमा पनि यसको वितरण समान हुन नसक्ने भन्दै चिन्ता व्यक्त गरेका हुन् । विशेषज्ञका अनुसार पिपुल्स लिबरेसन आमीको संलग्नताले भ्याक्सिन विकसित गर्ने काममा तीव्रता र दक्षता ल्याउन सक्छ तर सेनाको हस्तक्षेपले भविष्यमा सबैभन्दा अधिक माग हुने भ्याक्सिनमाथिको नियन्त्रण गम्भीर मुद्दा हो । विशेषज्ञहरुले चिनियाँ सेना नियन्त्रित भ्याक्सिनको प्रयोग सफल भएमा त्यसको वितरण चीनको फाइदाको हिसाबले हुने र आवश्यक ठाउँमा भ्याक्सिन उपलब्ध नहुने भन्दै चिन्ता व्यक्त गरेका हुन् ।

यद्यपि मेजर जनरल डा. चेन वाइले भने पहिलो परीक्षण सफल रहेको बताउँदै यसको क्षमताबारे जानकारी पाएसँगै अन्तर्राष्ट्रिय स्तरमा सम्झौता गरेर पूरै विश्वलाई दिने बताएकी छिन् । उनले कोरोनाभाइरसको उपचार पूरै विश्वमा पुगोस् भन्ने आफूहरुले चाहेको बताएकी छिन् । पहिलो चरणमा परीक्षणमा सहभागीहरुलाई यो महिनाभरी निगरानीमा राखिनेछ । उनीहरुको शरीरमा भाइरससँग लड्ने प्रतिरोधी शक्ति विकसित भएसँगै उनीहरुको रगतको नमूना लिएर भ्याक्सिनलाई बजारमा पठाइनेछ ।

Related Articles

Back to top button