Saturday, May 21

बस र कार एक आपसमा ठोक्किँदा ५ जनाको मृत्यु

May 1, 2022 995

धादिङ -पृथ्वी राजमार्गअन्तगत धादिङको थाक्रे गाउँपालिका ७ जुंगेखोलामा बस र कार ठोक्किँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट धादिङतर्फ आउँदै गरेको बा ५ ख ८४४३ नम्बरको बसले काठमाडौंतर्फ जाँदै गरेको वाग्मती प्रदेश ०१–०२६–च २९६८ नम्बरको कारलाई ठक्कर दिएको हो । दुर्घटनामा कारमा सवार ५ जनाको नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक एवम् एवक्ता जागेश्वर भण्डारीले जानकारी दिए ।

दुर्घटनामा कारका चालक तनहुँको खैरेनीका अन्दाजी ३६ वर्षीय दिलबहादुर बस्नेत, भारतको उत्तरप्रदेशका ४० वर्षीय बिमलचन्द्र अग्रवाल, ३५ वर्षीय साधना अग्रवाल, ४० वर्षीया सन्ध्या अग्रवाल, ५५ वर्षीय राकेश अग्रवालको मृत्यु भएको छ । घाइते भएका उनीहरुको उपचारका क्रममा चालक डिलबहादुर र बिमलचन्द्रको टिचिङ अस्पताल र अन्यको ट्रमा सेन्टरमा मृत्यु भएको हो । बसमा सवार धादिङ नीलकण्ठ नगरपालिका ११ का २४ वर्षीय राम परियार घाइते भएका छन् । घाइतेको ट्रमा सेन्टर काठमाडौंमा उपचार भइरहेको छ ।

मृत्यु भएकाहरु चारजना एउटै गाउँको रहेको प्रहरीले जनाएको छ । ट्याक्सीलाई ओभरट्याक गरेको कार ओरालोमा तीव्र गतिमा आएको बससँग ठोक्किएपछि दुर्घटना भएको हो । नेपाल घुम्नका लागि गत वैशाख ७ गते नेपाल आएका उनीहरु आइतबार पोखराबाट काठमाडौं फर्कंदै थिए । सोमबार दिल्ली फर्कने टिकटसमेत फेला परेको प्रहरीले जनाएको छ ।

Comment