International

साउदीमा कामदारलाई झुक्काएर सही छाप गर्न लगाइयो, सचेत रहन महावाणिज्यदूतावासको आग्रह

काठमाडौँ । साउदी अरबमा केही कम्पनीले कामदारलाई झुक्काएर अरेबिक भाषामा लेखिएका कागजातमा बेतलबी बिदाको लागि मन्जुरी रहेको भनेर सही छाप गर्न लगाइएको पाइएको छ । नेपाली महावाणिज्यदूतावास जेद्दाले कोरोना भाइरसको महामारीको समयमा धेरै कम्पनीहरूले आफ्ना कामदारलाई दिनुपर्ने तलब, आवासीय सुविधा र खाना भत्ताको उपलब्धताबारे आफ्नो ध्यानाकर्षण भएको बताउँदै केही कम्पनीहरुले कामदारलाई झुक्काएर मन्जुरी गराएको जनाएको छ हो ।

साउदी सरकारले कामदारको सहमति बिना कामदारको तलब कटौती गर्ने तथा बेतलबी बिदा बस्न बाध्य पार्न नपाउने जनाएको छ।महावाणिज्यदूतावास जेद्दाले आइतबार एक सूचना जारी गर्दै भनेको छ –‘नेपाली नागरिकहरूले टेलिफोन सम्पर्कबाट जानकारी गराए बमोजिम केही कम्पनीहरूले अरेबिक भाषामा लेखिएको कागजातमा बेतलबी बिदाको लागि कामदारको मन्जुरी रहेको भनेर सही छाप गर्न लगाएको पाइएको छ।यहाँ कार्यरत सबै नेपाली नागरिकहरुलाई कम्पनीले उपलब्ध गराएको यस्तो प्रकृतिका कागजातमा सही छाप नगर्नुहुन र कम्पनीले सही छाप गर्न बाध्य पारेको अवस्थामा यथाशीघ्र दूतावासमा सम्पर्क गर्नुहुन महावाणिज्यदूतावास हार्दिक अपिल गर्दछ।’ सुचनामा कसैलाई यस्तो अवस्था आएमा दूतावासलाई कम्पनीको मानव संसाधन प्रबन्धक वा कम्पनी प्रतिनिधिको टेलिफोन नम्बर प्रदान गर्न समेत अनुरोध गरिएको छ ।

महावाणिज्यदूतावासले कम्पनीको काम निरन्तररुपमा सञ्चालन भए कम्पनीले उपलब्ध गराएका सावधानीका सम्पूर्ण उपाय अपनाउन र काम बन्द भएर आवासमा रहेको अवस्था भए बाहिर ननिस्कन पनि आग्रह गरेको छ । त्यस्तै अत्यावश्यक सामान खरिद गर्न विहान ६ बजे देखि दिउँसो ३ बजे भित्र मात्र आवासको नजिकको स्टोरमा सकेसम्म एक्लै जान, सामूहिक भेटघाट नगर्न र साउदी सरकारले लागू गरेका नियमहरू पूर्ण रूपमा पालना गर्न समेत महावाणिज्यदूतावासले अपिल गरेको छ ।

जारी गरिएको सुचनामा विभिन्न देशका श्रमिकहरू नियम उल्लङ्घन गरेर कानूनी कारवाही तथा जरिवाना भोग्नुपरेको जानकारी आएको जनाउँदै कर्फ्यु लागेको अवस्थामा पालन गर्नुपर्ने नियमहरुको पूर्णरुपले पालना गरी संभावित कानूनी कारवाहीबाट जोगिन पनि त्यहाँ रहेका नेपालीहरुलाई सचेत गराइएको छ ।

हालसम्म साउदी अरबमा ९ हजार ३ सय ६२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये ९७ जनाको ज्यान गएको छ । त्यस्तै १ हजार ३ सय ९८ जना उपचारपछि निको भएका छन् । रियादस्थित नेपाली राजदूतावासका अनुसार संक्रमित मध्ये ४ जना नेपाली थिए । उनीहरु पनि उपचारपछि स्वास्थय लाभ गरिसकेका छन् ।

Related Articles

Back to top button
Close