News

कोरोनाका अन्य बिरामीको उपचारका लागि रगतको प्लाज्मा दान गर्न तयार छु: प्रसिद्धि श्रेष्ठ

काठमाडौं – कोरोना भाइरसको संक्रमणलाई जितेर टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालबाट २७ दिनपछि डिस्चार्ज भएकी प्रसिद्धि श्रेष्ठले कोरोना बिरामीको उपचारका लागि आफ्नो रगतको प्लाज्मा दिन तयार भएको बताएकी छिन्। अस्पतालबाट डिस्चार्ज हुने क्रममा उनले उक्त जानकारी दिएको अस्पतालका प्रवक्ता डा अनुप बाँस्तोलाले जानकारी दिए। कोरोना भाइरसबाट संक्रमित भएर निको भएकाहरुको रगतको प्लाज्माले कोरोना भाइरसबाट संक्रमित भएका अरु बिरामीको उपचारमा सहयोग हुने विषयमा अहिले विश्वका धेरै देशमा अध्ययन भइरहेको छ।

प्रसिद्धिले पनि अरु बिरामीको उपचारका लागि आफू प्लाज्मा दान गर्न तयार रहेको बताएकी हुन्। डा राजन शाहका अनुसार प्लाज्मा रगतको पारदर्शी पराल रङ्गको तरल भाग हो, जुन रातो र सेतो रक्त कोषिका तथा प्लेटलेट हटाएपछि हुने भाग हो। यसले मानव रक्तको ५५ प्रतिशत भाग ओगटेको हुन्छ। यसमा एन्टीबडीहरु हुन्छन्, जसले रोग विरुद्ध लड्न सहयोग गर्छ। यसमा एन्टीबडिजको मात्रा धेरै हुन्छ, जसलाई गम्भिर संक्रमणको उपचार वा रोगथामका लागि प्रयोग गरिन्छ। जुन १०० वर्षभन्दा पहिलेदेखि प्रयोगमा आएको उपचार विधि हो।

खोपहरुको आविष्कार हुनुभन्दा पहिले यो विधि डिप्थेरिया, पोलियो, दादुरा जस्ता रोगहरुमा सफलता पूर्वक प्रयोग गरिएको थियो। ‘जव एक व्यक्ति कोभिड–१९ बाट संक्रमित हुन्छ, शरीरले उक्त भाइरस विरुद्ध लड्नका लागि एन्टीबडी भनिने प्रोटिनहरुको निर्माण गर्दछ। यसले भाइरसलाई मार्छ र शरिरमा एन्टीबडी प्रतिक्रिया कायम गर्दछ, जुन लगभग एक वर्षसम्म रहने अनुमान छ, उनले भने। अहिले इटलीले संक्रमित भएर उपचारपछि निको भएकाहरु र कोरोना संक्रमण पोजेटिभ देखिए पनि उपचारै नगरी निको भएकाहरुको रगतको प्लाज्माबाट कोरोना संक्रमणविरुद्ध लड्न एन्टिबडी बनाइरहेको छ।

उनीहरुबाट बनाइएको एन्टिबडी अहिले कोरोना भाइरसबाट संक्रमित भएकाहरुमा राख्ने तयारी भइरहेको छ। यसले संक्रमितहरुलाई कोरोना भाइरसविरुद्ध लड्न सघाउने उनीहरुको विश्वास छ। लामो समयदेखि चिकित्सकहरुले स्वस्थ ब्यक्तिको प्लाज्मा अन्य रोगको संक्रमितहरुको उपचारमा उपयोग गर्दै आएका थिए। नेपालमा पनि बिरामीको संख्या थपिँदै गएमा उपचारका लागि उक्त विधि अपनाउन सक्ने विषयमा छलफल भइरहेको छ। सो अन्तर्गत प्रसिद्धिको रगतबाट प्लाज्मा निकालेर अरु बिरामीमा उपचारका लागि प्रयोग गर्न सकिन्छ।

फ्रान्सबाट आएकी १९ वर्षीया श्रेष्ठ शनिबार शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालबाट डिस्चार्ज भएकी हुन्। उनी फ्रान्सबाट कतार हुँदै नेपाल आएकी थिइन्। उनी गत चैत ४ गते नेपाल आएकी थिइन्। नेपाल आएपछि गरीएको परीक्षणमा उनमा कोरोना भाइरसको संक्रमण देखिएको थियो। त्यसपछि उनलाई चैत ९ गते अस्पताल भर्ना गरिएको थियो।

Related Articles

Back to top button
Close