News

जनकपुरमा पैसा फ्याल्दै हिड्ने दुई महिला मध्ये एकमा आरडीटी टेष्ट पोजिटिभ

बैशाख । जनकपुरधामस्थित महावीर चोकमा पैसा फालेर फरार भएको आरोपमा पक्राउ परेकी दुई महिलामध्ये एक जनाको आरडिटी रिपोर्ट पोजेटिभ देखिएको छ ।

कोरोना भाइरस संक्रमणको संत्रासकाबीच पैसा फालेर फरार भएको भनिएको महिलालाई नियन्त्रणमा लिई प्रादेशिक अस्पताल जनकपुरमा गरिएको परीक्षणमा आरडीटी रिपोर्ट पोजिटिभ देखिएको धनुषाका प्रमुख जिल्ला अधिकारीले पुष्टि गर्नु भएको छ ।

प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले न्यूज २४ संग कुरा गर्दै भन्नुभयो, ’हो दुई जना मध्ये एकजनामा आरडीटी रिपोर्टले पोजिटीभ देखाएको छ ।’ निरौलाका अनुसार उनीहरु दुबैजनाको अहिले पीसीआर टेस्ट भइरहको बताउनु भयो । उहाँले ती दुई महिला जनकपुरधाम स्थित एक बैंकबाट पैसा झिकेर घर फर्किदा १७ वटा दशको नोट बाटोमा झरेको बयांन दिएको पनि प्रजिअ निरौलाले बताउनु भयो ।

शुक्रवार दिउँसो महावीर चोकमा पैसा फालेर फरार भएको भन्दै सीसीटिभी फुटेजको आधारमा जनकपुरधाम उपमहानगरपालिका–७ जानकीनगरकी आमुना खातुन र अलिना खातुनलाई शनिवार दिउँसो जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख रमेश कुमार बस्नेत नेतृत्वको प्रहरी टोलीले पक्राउ गरेको थियो ।

प्रहरीका अनुसार उनीहरु दुबैजना नन्द भाउजु हुन्। पक्राउ गरे लगतै कोरोना संक्रमण परीक्षणका लागि दुबै जनालाई आरडीटी परीक्षणका लागि प्रादेशिक अस्पताल पठाइएको धनुषा प्रहरी प्रवक्ता रामेश्वर कार्कीले न्यूज २४लाई जानकारी दिनुभयो ।

उनीहरुको विषयमा थप अनुसन्धान भइरहेको पनि कार्कीले बताउनुभयो ।शुक्रवार दिउँसो महावीर चोकमा दुई जना महिलाले पैसा फ्याल्दै हिडेको भन्दै स्थानीयहरु त्रसित भएका थिए।

कोरोना भाइरस फैलाउन ती महिलाले पैसा फ्याल्दै हिडेको भन्दै स्थानीयहरुले प्रहरीलाई जानकारी गराएपछि प्रहरीले ती पैसा टिपेर लागेका थिए ।ती महिलाहरुको बारेमा प्रहरीलाई जानकारी गराउन भन्दै जिल्ला प्रहरी कार्यालयले सीसीटिभीको आधारमा फोटो सार्वजनिक गरेको थियो।

Related Articles

Back to top button
Close