Wednesday, May 18

गरिब देशका धनी नेपाली, जसको सवारीका लागि भित्रिएका छन् सवा ११ करोडसम्मका गाडी, कसले चढ्छ!

April 15, 2022 351

काठमाडौं। औपचारिक अर्थतन्त्रको तस्वीरले नेपाललाई गरिब देखाए पनि नेपालीको सवारी सोख भने विश्वका धनी देशका उपभोक्ताभन्दा कम देखिँदैन। मूल्य र सुविधाका हिसाबले विश्वमा नै अत्यन्त महँगा मानिने ब्रान्डका गाडी नेपाली सडकमा गुड्न थाल्नुले पनि यसलाई पुष्टि गर्छ।

पछिल्लो समय विश्व बजारमा प्रख्यात विलासी गाडीहरु नेपालमा पनि देखिन थालेका छन्। यस्ता गाडीहरु नेपाल ल्याउनका लागि व्यवसायिक घरानाहरु राम्रै जोडबल गरेर लागेका छन्।

खासगरी व्यवसायिक घरानाहरुले युरोपियन र अमेरिकी प्रिमियम अटो ब्रान्ड टेस्ला, ल्यान्डरोभर, बीएमडब्लु, ज्यागुअरका गाडीहरु बिक्री गर्दै आएका छन्। सुविधाका हिसाबले यी गाडीहरु आरामदायी त छन्, महँगा पनि असाध्यै छन्।

नेपाली सडकमा जर्मन अटो ब्रान्ड मर्सिडिजका गाडी गुड्न थालेको वर्षौं भइसकेको छ। तर अहिले यसका प्रिमियम रेन्जका कारहरु पनि नेपाली धनाढ्यका ग्यारेजसम्म पुगेका छन्। यस्तै, अमेरिकी प्रिमियम इभी ब्रान्ड टेस्लादेखि पछिल्लो समय भारतमा चर्चा कमाएको स्पोर्ट्स कार डीसी अवान्तीसम्मका गाडी पनि नेपालको सडकमा गुड्दै छन्।

यसबाहेक पनि आउडी, लेक्सस, ल्याम्बर्गिनी, हम्मर, मर्सिडिज लगायतका स्पेसल एडीसनका गाडी पनि नेपाली धनाढ्यहरुले व्यक्तिगतरुपमा नै भए पनि ल्याएर सोखसाथ चढेको देखिन्छ। यस्ता गाडीहरु प्राय: व्यवसायिक घरानाका संचालक तथा उनीहरुका परिवारका सदस्यहरुले चढ्ने गरेको पाइन्छ।

यसबाहेक निर्माण व्यवसायी र घरजग्गा कारोबारमा लागेका व्यक्तिहरुले पनि छोटो अवधिमै निकै महँगा गाडीहरु चढ्न थालेका छन्।

छिमेकी भारतको तुलनामा नेपालमा कारको मूल्य भन्सार लगायत विभिन्न करका कारण कम्तिमा दुईदेखि करिब तीन गुणा (२८८ प्रतिशत) सम्म महँगो पर्छ। उच्च कर लगाइएका कारण नेपालमा सवारी साधनको मूल्य संसारका अन्य थुप्रै देशमा भन्दा निकै बढी रहेको बताइन्छ।

त्यसका बाबजुद गरिब देश मानिने नेपालमा महँगा विलासी कारका सौखिनको कमी छैन। कर्पोरेट क्षेत्रले फड्को मार्नुका साथै अनौपचारिक अर्थतन्त्रको विस्तारसँगै सडकमा करोडका कार सामान्य बनेको छन्। जानकारहरु भन्छन्, केही नेपालीले आफू बस्ने घर-कम्पाउन्डको मोलभन्दा पनि महँगो गाडी चढ्छन्।

यस्ता छन् नेपालीले चढिरहेका केही महँगा गाडी:

ल्यान्ड रोभरको ‘रेन्ज रोभर ३.० एलडब्लुबी’ एसयुभी
ब्रिटिस ओरिजिन ब्रान्ड ल्याण्ड रोभर विश्व अटो बजारमा नै उपलब्ध गाडीहरुमध्ये हाइ-एन्ड एसयूभी मानिन्छ। सन् २००८ देखि भारतको टाटा समूहको स्वामित्वमा रहेको ल्यान्डरोभरका गाडी नेपालमा किशोर गियरले बिक्री गर्दै आएको छ। नेपालमा ५ मोडलका ल्याण्डरोभर गाडी बिक्री भइरहेका छन्।

अहिले व्यक्तिगतरूपमा ल्याण्ड रोभरका महँगा रेन्ज रोभरहरु पनि भित्रिने गरेका छन्। तर व्यवसायिक रूपमा आउनेमा भने नेपालमा ३ करोड १ लाखदेखि करिब ६ करोडसम्मका ल्यान्डरोभर गाडी बढी बिक्री भएका छन्। योभन्दा पनि महँगो रेन्जको चढ्न चाहनेका लागि हो रेन्ज रोभर ३.० एलडब्लुबी एसयुभी, जसको मूल्य नेपाली बजारमा ११ करोड २५ लाख रुपैयाँसम्म पर्छ।

मर्सिडिज-बेन्ज जी६३ एएमजी ६.३ भी-८
मर्सिडिज विश्वमा लामो समयदेखि धनाढ्य र हाइप्रोफाइलहरुको स्टाटस सिम्बोल समेत रहँदै आएको अटो ब्रान्ड हो। यसका समयक्रम अनुसारका लग्जरियस गाडीहरु नेपालमा पनि वर्षौंदेखि गुडिरहेका छन्। नेपालमा दुई करोड रुपैयाँदेखि माथि पाँच करोड रुपैयाँसम्मका मर्सिडिजका गाडीहरु गुड्छन्। त्यसमा महँगो मर्सीडिज-बेन्ज जी६३ एएमजी ६.३ भी८ को भने सबैभन्दा महँगो ५ करोड रुपैयाँसम्मको छ।

कम्फर्ट र सेफ्टीका दृष्टिले पनि महँगो लग्जरी एसयुभीमा पर्ने यो गाडी नेपालमा अहिलेसम्म एक जनाले मात्र चढ्छन्।

यसको इन्जिन क्षमता ५४६१ सीसीको छ भने यो गाडी एक लिटर पेट्रोलमा लगभग ८ किलोमिटरसम्म कुद्छ। यो गाडीमा ५३६ ब्रेक हर्सपावर (बीएचपी) र ५५०० रिभोलुसन पर मिन्युट (आरपीएम) क्षमता छ। यसको ग्राउण्ड क्लिरियन्स २०५ एमएम, लम्बाई ४६६२ एमएम, हाइट १९५१ एमएम र चौडाइ १७६० एमएम छ।

टेस्ला मोडेल एक्स एसयुभी
विद्युतीय गाडी मात्र बनाउने टेस्लाको कार नेपाली सडकमा सन् २०२० देखि गुड्न थालेको हो। नेपालमा अहिले टेस्लाका ६ वटा गाडी गुडिरहेका छन्, जसमध्ये तुलनात्मक रुपमा महँगो गाडी ‘मोडेल एक्स लुडीक्रुअस’ हो।

पेट्रोलियमबाट चल्ने गाडीको तुलनामा इभीलाई भन्सार करमा निकै सहुलियत दिँदा पनि नेपाल भित्रिँदा टेस्लाको यस गाडीको मूल्य २ करोड ७५ लाख रुपैयाँ परेको छ। टेस्लाको त्योभन्दा सस्तो गाडी पनि राजधानीको सडकमा गुड्छ, जसको मोल २ करोड ३५ लाख रुपैयाँ परेको छ।

फाल्कन रियर डोर डिजाइनमा रहेको टेस्ला मोडेल एक्सको ढोका चिलको पंखेटा जस्तरी खुल्छ। यस गाडीमा भएको ब्याट्रीले एक चोटीको फुल चार्जमा ३४१ किलोमिटर दूरी पार गर्न सकिन्छ।

टोयोटा ल्यान्ड क्रुजर २००
विश्वव्यापी रुपमा नै धेरै वर्ष नम्बर वान अटो ब्रान्डको स्थान कायम गरेको टोयोटा नेपालमा पनि निकै लोकप्रिय ब्रान्ड हो। खासगरी भीआईपीहरुको स्ट्याटसको प्रतिबिम्ब नै बनेको छ टोयोटाको प्राडो र ल्याण्ड क्रुजर। यसमा पनि ल्याण्ड क्रुजर अझ विशेष मानिन्छ।
नेपालमा पाइने सबैभन्दा महँगो मोडेल ‘टोयोटा ल्यान्ड क्रुजर २००’ हो। यसको मूल्य अहिले ३ करोड २३ लाख रुपैयाँ पर्छ।

आठजना बस्न मिल्ने यो ल्यान्ड क्रुजर ४९५० एमएम लम्बाइ र १९१० एमएम उचाइको एसयूभी हो। लामो दूरीको यात्रामा समेत लक्जरी र एडभेन्चरको प्रतीकका रुपमा ल्यान्ड क्रूजर २०० लाई लिएको छ। फोर ह्विलर यो गाडी नेपालको जुनसुकै बाटोका लागि पनि सुविधाजनक यात्राका लागि उपयुक्त रहेको बताइन्छ।

डीसी अवन्ती स्पोर्ट्स कार
लुक्स र लग्जरी सेग्मेन्टमा ख्याति पाएको भारतीय स्पोर्ट्स कार ‘डीसी अवन्ती’ पनि नेपालमा अहिलेसम्म एउटा मात्र गुड्छ। भारतमा राम्रो चर्चा कमाएको यो स्पोर्ट्स कार नेपालमा एक करोड ३५ लाख रुपैयाँ पर्ने रेन्जको भित्रिएको हो।

यो गाडीलाई राम्रो मोटर्सकारका संचालकले आफैं चढ्नका लागि नेपाल ल्याएका थिए। तर पछि कम्पनीले बिक्रीका लागि राखेको छ। २०१८ मोडेलको यो गाडीको सेगमेन्टसँग मिल्ने फोर्ड मस्टङ जस्ता अन्य कारहरु पनि नेपालमा उपलब्ध छन्।

सेक्सी डिजाइन र उत्कृष्ट गति भएको युनिक स्पोर्ट्स कार डिसी अवन्ती पावर, डिजाइन, सुरक्षा व्यवस्था र लुक्सका लागि प्रख्यात छ। २ सिट मात्रै रहेको यो सुपरकारमा २.०-लिटर ४-सिलिन्डर टर्बोचार्ज्ड शक्तिशाली पेट्रोलियम इन्जिन छ जसले ६ स्पीड म्यानुअल ट्रान्समिसनको गियरबक्सको साथ २५० ब्रेक हर्स पावर (बीएचपी) पावर जेनेरेट गर्ने बताइएको छ।

यो स्पोर्ट्स कारले एक लिटर पेट्रोलमा लगभग १० किलोमिटरसम्म चल्छ। २००० सीसी इन्जिनको क्षमताको यो कारमा भएको इन्धन ट्याङ्कको स्टोरेज क्षमता ६० लिटरको रहेको छ। एकचोटी फुल ट्याङ्क फ्युल भर्दा ६०० किलोमिटर सम्मको दूरी पार गर्न सक्ने जनाइएको छ।

जगुअर
बेलायती प्रिमियम ब्रान्ड जगुअर नेपाली बजारमा तीन वर्षअघि भित्रिएको थियो। यस गाडीले नेपाली कार पारखीको ध्यान राम्रैसँग खिचेको छ। महँगो कारका सौखिन प्रतिष्ठित व्यवसायीहरू जगुअर कारतिर आकर्षित भएका छन्। नेपालमा जगुअर कार पनि किशोर गियरले २०१४ मा भित्र्याएको हो। बेलायती कम्पनी जगुअर ल्यान्ड रोभरकै उत्पादन यो कार नेपालमा जम्मा दुई मोडलका ६ थान भित्रिएको थियो।

जगुअर एक्सएफ र जगुअर एक्स जे एल गरी दुई मोडल नेपाली सडकमा चलेको देखिन्छ। केही वर्ष पुरानो मोडल भए पनि नेपालमा एक्स एफको मूल्य १ करोड ३० लाखदेखि १ करोड ४० लाखसम्म र एक्सजे एलको मूल्य १ करोड ५० लाखदेखि १ करोड ६० लाखसम्म पर्छ।

चर्चित व्यवसायिक घराना गोल्छा अर्गनाइजेसन, सारडा ग्रुप, प्रेसिडेन्सियल ट्राभल्स लगायतका संचालकहरुले जगुअर कार नेपाली सडकमा चलाइरहेको देखिन्छ।

Comment