पुगेन लेभल तेरो बाउ बोला ए” र्याप ब्याटलको एक टुक्का हो यो । जुन अहिले चर्चाको शिखरमा छ । यो ब्याटल संगै यसका गायक पनि एकाएक चर्चामा आए । उनै गायकको नाम हो जि-बब ।
को हुन् जि-बब ?
जि-बबको नामले चर्चाको शिखरमा पुगेका उनको बास्तबिक नाम सुदीप भण्डारी हो । उनी उमेरले मात्र २१ बर्षको भए । स्थायी बसोबास, गोदावरी भएका उनको पुरख्यौली थलो, गोरखा हो । सामान्य पारिवारिक पृष्ठभुमिबाट आएका उनी अहिले चर्चाको शिखरमा छन् । र्यापमा मात्र होईन उनी पढाईमा पनि ब्रीलियन्ट छन् । उनले बिज्ञानमा प्लस टु पूरा गरेर अहिले ईफर्मेसन टेक्नोलोजी (आईटी) मा स्नातक गरिरहेका छन् ।
सुदीप भण्डारीबाट “जि-बब” ?
अल नेपाल ठग्स फेमिली ‘एनटीएफ’ले र्याप ब्याटलको आयोजना गर्यो । जसले बिजेतालाई एक लाख रुपैयाँ पुरस्कार घोषणा गरेको छ । त्यहाँ यस्ता पुस्ता झुम्मिएका छन्, जसको प्रतिभालाई समाजले कुनै ‘भाउ’ दिंदैन । त्यसैले उनीहरुलाई आफ्नो समाजसँग गुनासो छ ।
उनीहरूको मनभित्र आगोको राप छ, तुफानी बेग छ । त्यो गुनासो, कुष्ठा, आवेग, पीर, निराशा उनीहरु स्वच्छन्द ओकल्न चाहन्छन् । त्यो पनि काव्यिक पारामा । यही नै उनीहरुको अभिव्यक्तिको मौलिक भाषा हो । यही नै उनीहरुको जीवनको व्याकरण पनि । त्यही भीडमा मिसिन आइपुग्छन्, एक लिखुरे केटो सुदीप भण्डारी ।
उनी भीडको माझमा उभिन्छन् । सम्मुखमा निर्णायक छन् । अघिल्तिर प्रतिद्वन्द्वी । यी दुईबीचको घम्साघम्सी हेर्न रमितेहरु उत्सुक छन् । सुदीपको हातमा माइक थमाइदिंदै सञ्चालक भन्छन्, ‘ल फस्ट राउन्ड ..। सुदीप, लेट्स गो ।’ अब सुरु हुन्छन् सुदीपका शब्दका बाणहरु ।
“यो .. फुच्चे यहाँ आएर आज किन जंगिरा डोङ दाइले जी-बब भन्नुपर्ने सुदीप पो भन्दिरा ।” एकै झड्कामा उनी सञ्चालकको गल्ती समाउन र प्रतिस्पर्धीमाथि ‘फ्रिस्टाइल’मा धावा बोल्न भ्याउँछन् । र्याप ब्याटलमा ‘फ्रिस्टाइल’ खास मानिन्छ । ठाउँको ठाउँ तोडिलो शब्द गठन गरेर प्रतिद्वन्द्वीको झाँको झार्ने खुबी हो यो । यसरी र्याप संगीतको मनमौजी संसारमा शानदार उदय हुन्छ, जी-बबको ।
त्यो आत्मविश्वास । त्यो तेज र आक्रामक शब्द गठन । त्यो अविछिन्न रचना शिल्प । त्यो शैली । उनको उपस्थिति र प्रस्तुति यति जोडदार हुन्छ, रमितेहरू हेरेको हेर्यै ।
प्रतिस्पर्धी ‘सिरुपाते’ले उनको जुत्ता र माइक समाउने ढंग नभएको भन्दै कटाक्ष गर्छन् । त्यसैको सेखी झार्दै जी-बब फ्रिस्टाइलमा जवाफ फर्काउँछन् । “यो फुच्चे मसँग ब्याटल खेल्न साँच्चै डराउँछ, जुत्ताको कुरा गर्छ, यो जुत्ता बेच्यो भने, भाइ तेरो घर आउँछ ।”
चुपचाप आउँछन् । बाजी जित्छन् । र, उसैगरी त्यो कोलाहाल र भीडबाट कतै आलाप हुन्छन् । तर उनको धारिलो शब्दहरुले त्यहाँ कम्पन छाड्छ । उनी को हुन् ? कहाँबाट आए ? कता गए ? उत्सुकता जाग्छ । सडक-कवि । रचनात्मक दिमाग चलायमान छ, हरक्षण । सुदीप भण्डारी उर्फ जी-बब ।
कसरी सुरु भयो जि-बबको चर्चा ?
एएनटीएफको पहिलो, दोस्रो, तेस्रो राउन्डमा उनको अपराजित यात्रा अघि बढ्छ । निर्णयकहरुको मन पगालेका छन् । आफ्ना प्रतिद्वन्द्वीको मुटु हल्लाइदिएका छन् । सिनियर र्यापरहरु भनिरहेका छन्, ‘अब पालो जी-बबको ।’ यस्तैमा उनको अर्को र्याप ब्याटल सार्वजनिक हुन्छ, युट्युबमा । प्रतिद्वन्द्वी माइलासँगको ब्याटलमा उनले छाडेका चोटिलो पंक्ति हावाको बेगसरी सर्वत्र फैलिन्छ ।
‘मिलने लेबल तेरो बाउ बोला ए, तेरो क्रु तेरो गाउँ बोला ए, सिक्न आइज तेरो बाउकोमा ए, बगाइसक्यो तेरो नाउ खोलाले…।’ उनको यो ब्याटलले रात्रिक्लबको डान्स फ्लोरदेखि टिकटकसम्म यसले उधुम मच्याउँछ । युट्युब ट्रेन्डिङमा छाउँछ । किशोरपुस्ता यी पंक्तिहरुसँग यसरी रमाउँछन्, मानौं यसमा उनीहरुको भावना अभिव्यक्त भएको छ । अन्ततः रातारात जी-बब ‘भाइरल’ हुन्छन् । (अनलाईन खबरको सहयोगमा)
Comment