Video

अमेरिकन आइडलमा चम्किदै दिवेश: आजको प्रस्तुतीले निर्णायक लियोनेल रिचीलाई रुवायो (भिडियो)

काठमाडौं। अमेरिकन आइडलको १८ औं संस्करणमा छनौट भएदेखि नै नेपाली मूलका दिवेश पोखरेलको चर्चा चुलिएको छ । नेपालमा मात्रै नभई अमेरिकन आइडलको स्टेजमा पनि उनी निकै चर्चित छन् । स्टेजमा आर्थर गनको रुपमा परिचित दिवेशले अडिसनबाटै निर्णायकको लगातार मन जितिरहेका छन् ।गत हप्ताको दिवेशको प्रस्तुतीमा तीनै जना निर्णायकले उठेर ‘वान्स मोर’ भनेका थिए भने सोमबार राती प्रसारण भएको अमेरिकन आइडलमा उनको नयाँ प्रस्तुतीमा निर्णायक लियोनेल रिचीको आँखा रसाए । दिवेशले आफ्नो प्रस्तुती दिएर स्टेजबाट बाहिरिएपछि निर्णायक रिचीले अन्य दुई निर्णायकलाई हेरेर भने, ‘उनको प्रस्तुतीले मेरो आँखा रसाए । मलाई माफ गर्नुहोस् ।’

दिवेशले ‘हलिउड विक’ नाम दिइएको उक्त राउन्डमा सिसिआर ब्यान्डको ‘ह्याभ यु एभर सिन द रेन’ गाएका थिए। उनले यही गीत मिलाउकीमा भएको अडिशनमा समेत गाएका थिए । अब आफू निकै अघि आइसकेकोले यसमा आफ्नो सिर्जनशीलता पनि मिसाएको उनले बताए । उनले गीतको स्केल पनि परिवर्तन गरे ।आफ्नो प्रस्तुती अघि उनले यो एक्सपेरिमेन्टल (प्रयोगात्मक) भएपनि ब्यान्डसँग यो निकै राम्रो सुनिने उनले सुरुमा अनुमान गरेका थिए । यो जोखिम हो तर यहाँ प्रयास त गर्नैपर्छ,’ सार्वजनिक भएको भिडियोमा उनले भनेका छन् ।

यद्यपि, निकै छोटो समय भएकोले दिवेशको अरेन्जमेन्टमा ब्यान्डले राम्रोसँग प्रस्तुती दिन नसकेपछि अन्तिम समयमा आफैंले गितार बजाएर गाउने निश्चित गरे । आफूसँग यो भन्दा अरु विकल्प नभएको पनि उनले बताए ।अन्तिम समयमा स्थिती अलि जटिल देखिएपनि उनले प्रस्तुती दिएपछि तीनै जना निर्णायकले ‘स्ट्यान्डिङ ओभेसन’ अर्थात् उत्साहपूर्ण स्वागत गरेका छन् । दिवेशले पनि आफ्नो प्रस्तुती सन्तोषजनक रहेको बताए ।

Related Articles

Back to top button
Close